काठमाडौं । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले बक्सअफिसमा १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस विवरणअनुसार फिल्मले प्रदर्शनको १७ दिनमा १२ करोड ३९ लाख ९२ हजार २४५ रुपैयाँ ग्रस कलेक्सन गरेको हो। यस अवधिमा फिल्मका ४ लाख ५ हजार ८६४ वटा टिकट बिक्री भएका छन्।
कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले दसैँको अवसरमा एकसाथ तीन नेपाली फिल्म प्रदर्शनमा आए पनि दर्शकको राम्रो साथ पाएको थियो। देशभरका हलमा उत्साहजनक शो र दर्शकको उपस्थितिले फिल्मको व्यापारलाई बलियो बनाएको हो।
तर, बिहीबारदेखि भारतीय फिल्म ‘रामायण’ नेपाली हलमा प्रदर्शनमा आएसँगै ‘कबड्डी ५’ को तेस्रो साताको शो संख्यामा भने कमी आएको छ।
फिल्ममा दयाहाङ राईसँगै मिरुना मगर, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ र माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी रहेको छ।




Comment