नेपाली मूलकी ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्ट दोषी ठहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या गरेको अभियोगमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। प्रिन्स विलियम काउन्टीस्थित अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृतशरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो।

अदालतको फैसलासँगै नरेशको धरौटीसमेत खारेज गरिएको छ। उनलाई सजाय निर्धारण नभएसम्म हिरासतमा राखिने भएको छ। उनको सजाय आगामी सन् २०२७ मार्च १२ मा निर्धारण हुने तय भएको छ। अमेरिकी कानुनअनुसार प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएमा उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ।

सन् २०२४ जुलाईदेखि ममता रहस्यमय रूपमा सम्पर्कविहीन भएकी थिइन्। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै उनका पति नरेशलाई पक्राउ गरेको थियो। लामो अनुसन्धान र सुनुवाइपछि अदालतले नरेशलाई हत्यासहितका तीनवटै अभियोगमा दोषी ठहर गरेको हो।

अदालतमा गत साता बयान दिने क्रममा नरेशले मनासास पार्कस्थित आफ्नै घरमा पत्नी मृत अवस्थामा भेटिएको दाबी गरेका थिए। ममताले विष सेवन गरेको जस्तो देखिएको उनको भनाइ थियो। घटनाको दोष आफूलाई लाग्ने डरले पत्नीको शव टुक्रा पारी विभिन्न स्थानमा विसर्जन गरेको उनले स्वीकार गरेका थिए। तर, ममताको हत्या भने आफूले नगरेको जिकिर गरेका थिए। हालसम्म ममताको शव फेला परेको छैन।

मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षले नरेशको बयान र घटनासँग सम्बन्धित प्रमाणहरूले उनी नै हत्यामा संलग्न रहेको पुष्टि गर्ने जिकिर गरेको थियो। सहायक कमनवेल्थ अटर्नी क्याथरिन विलियम्सले ममताको शव टुक्रा पारेर फोहोरमा फालिएको स्वीकार गर्ने व्यक्तिले हत्यामा आफ्नो संलग्नता नरहेको भन्नु तर्कसंगत नभएको बताएकी थिइन्।

त्यस्तै, सरकारी पक्षले ममता र नरेशबीचको वैवाहिक सम्बन्ध तनावपूर्ण रहेको तथा ममताले मानसिक र शारीरिक हिंसा भोगेको प्रमाणसमेत अदालतमा प्रस्तुत गरेको थियो। ममताकी सहकर्मी तथा निकट साथी सुनिता बस्नेत थापाले नरेशबाट ममताले लामो समयदेखि मानसिक यातना भोगिरहेको आफूलाई बताएको बयान दिएकी थिइन्। उनले ममताले शारीरिक हिंसासमेत भोगेको जानकारी आफूलाई दिएको उल्लेख गरेकी थिइन्।

यता, प्रतिवादी पक्षकी वकिल ट्रेसी लेनोक्सले घटनामा शंकाको सुविधा अभियुक्तले पाउनुपर्ने तर्क गर्दै नरेशलाई हत्याको अभियोगबाट सफाइ दिन माग गरेकी थिइन्। अमेरिकी न्याय प्रणालीमा कसैलाई दोषी हुन सक्ने सम्भावनाका आधारमा मात्रै दोषी ठहर गर्न नमिल्ने उनको जिकिर थियो।

सुनुवाइका क्रममा एक मनोवैज्ञानिकले नरेश भट्ट पोस्ट-ट्रमाेटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) बाट प्रभावित रहेको बयान दिएका थिए। नेपालमा सेनामा रहँदा माओवादी विद्रोहीहरूले आफूलाई बन्धक बनाएर यौन दुर्व्यवहार गरेको नरेशले बताएको मनोवैज्ञानिकले अदालतमा उल्लेख गरेका थिए।

फैसलापछि प्रिन्स विलियम काउन्टीकी कमनवेल्थ अटर्नी एमी एशवर्थले कुनै पनि फैसलाले ममतालाई फिर्ता ल्याउन नसक्ने र उनको परिवारले भोगेको अपूरणीय क्षति मेटाउन नसक्ने बताएकी छन्। यद्यपि, अदालतको निर्णयले परिवारलाई न्यायको अनुभूति गराउने र ममताको जीवनको मूल्य तथा उनको कथालाई न्यायिक रूपमा सुनुवाइ भएको विश्वास दिलाउने आशा व्यक्त गरेकी छन्।

उनले ममताको शव फेला नपरे पनि न्याय सम्भव हुने बताउँदै यस मुद्दालाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरेकी छन्। राज्यले उपलब्ध प्रमाणको आधारमा अनुसन्धान अघि बढाएर सत्य उजागर गरेको उनको भनाइ छ।

फैसलापछि अदालतबाहिर ममताका साथीभाइ तथा समर्थकहरूले खुसी व्यक्त गरेका थिए। ममताकी साथी सच्ची मैनालीले न्याय प्रणालीप्रति आफूहरूको विश्वास रहेको बताउँदै फैसलाले केही हदसम्म न्यायको अनुभूति गराएको प्रतिक्रिया दिएकी थिइन्।

त्यस्तै, सुनिता बस्नेत थापाले अदालतमा बयान दिएपछि आफूलाई केही राहत महसुस भएको बताइन्। ममताले भोगेका पीडा र आफूले सुनेका कुराहरू लामो समयसम्म मनमै राख्नुपरेको उल्लेख गर्दै उनले मुद्दाको सुनुवाइका क्रममा आफ्ना कुरा राख्न पाउँदा भावनात्मक रूपमा हल्का महसुस भएको बताएकी छन्।

ममता काफ्ले भट्टको हत्या प्रकरणले अमेरिकामा रहेका नेपाली समुदायसँगै नेपालमा पनि व्यापक चासो र दुःख उत्पन्न गराएको थियो। शव फेला नपरेको अवस्थामा पनि प्रस्तुत प्रमाण र बयानका आधारमा अदालतले अभियुक्तलाई दोषी ठहर गरेको यो मुद्दा नेपाली समुदायका लागि लामो समयसम्म स्मरणीय रहने देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।