भाइटीका आज,लगाउँदा कुन दिशातिर फर्किने ? 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन्। नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिनका रूपमा रहेको भाइटीका प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाउने गरिन्छ।

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

धार्मिक मान्यताअनुसार भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा छ। दिदीबहिनीको पूजा तथा सम्मान गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा. पुरुषोत्तम भट्टराईका अनुसार भाइटीका लगाउनका लागि आज बिहान ११:०७ बजेको साइत उत्तम रहेको छ। यद्यपि, दिनभर टीका लगाउन कुनै बाधा नरहेको समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गर्दा वृश्चिक राशिमा रहेको चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्।

भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवी, यमराज, यमुना, धर्मराजलगायत देवताको आराधना गर्ने परम्परा छ।

त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्‍याउने गर्छन्। सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताएका छन्।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायत परम्परागत परिकार दिने गर्छन्। दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई कपडा, दक्षिणा तथा सौभाग्यका सामग्री प्रदान गरी सम्मान प्रकट गर्ने सामाजिक तथा धार्मिक परम्परा रहेको छ।

भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता, सद्भाव र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।