काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ। बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहीबार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। बिहान ८ः४५ बजेसम्म तापक्रम थप घट्न सक्ने उनले बताएका छन्।
चिसो मौसममा सूर्योदयसम्म न्यूनतम तापक्रम थप घट्ने सम्भावना रहने भए पनि कहिलेकाहीँ प्रारम्भिक मापनकै तापक्रम कायम रहन सक्ने मौसमविद् ढकालको भनाइ छ।
बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस मापन गरिएको थियो। बुधबारको तुलनामा बिहीबार बिहान तापक्रम २.२ डिग्रीले घटेको छ।
मौसमविद् ढकालका अनुसार बिहीबार काठमाडौं उपत्यकामा वर्षाको सम्भावना छैन। दिनभर मौसम मुख्यतः घमाइलो रहने र बीचबीचमा बादल देखिन सक्ने उनले जानकारी दिएका छन्।
यसअघि बुधबार भने काठमाडौं उपत्यकाका विभिन्न स्थानमा असिनासहित वर्षा भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ३३.५ मिलिमिटर र बबरमहल क्षेत्रमा ११.२ मिलिमिटर वर्षा मापन गरिएको थियो। उपत्यकाका अन्य स्थानमा भने हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
१० मिलिमिटरभन्दा बढी वर्षालाई मौसम विज्ञानमा मध्यम वर्षा मानिन्छ।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम घट्दै गएको छ। तापक्रममा आएको गिरावटसँगै बिहान र बेलुकाको समयमा चिसो बढ्न थालेको छ।





Comment