काठमाडौं । भारतीय बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै अग्रिम टिकट बिक्रीबाट विश्वभर १०० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार रिलिज हुनुभन्दा १५ दिनअघि अग्रिम बुकिङ खुला गरिएको फिल्मले मंगलबार बिहानसम्म भारतमा मात्रै ५८ करोड भारू संकलन गरेको छ ।
भारतमा बिक्री भएका टिकटमध्ये पहिलो दिनको प्रदर्शनका लागि मात्रै २७ करोड भारू बराबरको अग्रिम टिकट बिक्री भएको जनाइएको छ । हालसम्म भारतभर करिब १५ लाख टिकट बिक्री भइसकेका छन् ।
भारतबाहिर पनि फिल्मको अग्रिम बुकिङ उत्साहजनक देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर अमेरिकासहित अन्तर्राष्ट्रिय बजारबाट मात्रै ५० लाख अमेरिकी डलर अग्रिम आम्दानी भएको छ ।
भारतीय फिल्म उद्योगमा अग्रिम बुकिङबाट १०० करोड भारू आम्दानी गर्नु दुर्लभ उपलब्धि मानिन्छ । यसअघि ‘बाहुबली–२’, ‘आरआरआर’, ‘पुष्पा–२’ र ‘धुरन्धर–२’ लगायतका केही फिल्मले मात्रै यो सफलता हासिल गरेका थिए ।
अग्रिम बुकिङको प्रारम्भिक तथ्यांकले ‘रामायण’ले बक्स अफिसमा बलियो ओपनिङ गर्ने संकेत गरेको छ ।
नितेश तिवारीको निर्देशनमा बनेको यस पौराणिक कथामा आधारित फिल्ममा रणवीर कपुर राम, साई पल्लवी सीता, यश रावण र सनी देओल हनुमानको भूमिकामा देखिँदैछन् ।
दुई भागमा निर्माण गरिएको फिल्मको पहिलो भाग तिहारको अवसर पारेर नोभेम्बर ५ मा प्रदर्शन हुँदैछ । यसको दोस्रो भाग सन् २०२७ को तिहारमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।




Comment