उपासना र सोनम अभिनित ‘जलाकी’ को ट्रेलर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अशोक थापा मगरको निर्देशनमा बनेको नेपाली चलचित्र ‘जलाकी’ को ट्रेलर सार्वजनिक भएको छ।

शुक्रबार लबिम मलस्थित क्यूएफएक्स हलमा आयोजित कार्यक्रममा निर्माण टोलीले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा कलेज जीवनको प्रेमकथा, समयको परिवर्तनसँगै पात्रहरूको जीवनमा आउने भावनात्मक उतारचढाव र सांस्कृतिक पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

ट्रेलरमा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनको अभिनय तथा उनीहरूबीचको केमेस्ट्री आकर्षक देखिएको छ। मगर समुदायको सांस्कृतिक पहिचानमा आधारित कथावस्तु र यसअघि नै चर्चामा रहेका गीतले चलचित्रप्रति दर्शकको चासो थप बढाएको छ।

चलचित्रमा समावेश ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका तीन गीत तथा टिजरलाई दर्शकले रुचाइसकेका छन्। सार्वजनिक ट्रेलरले पनि दर्शकको राम्रो साथ पाउने निर्माण टिमको विश्वास छ।

निर्देशक मगरका अनुसार ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाबाट निर्मित स्तम्भलाई जनाउने शब्द हो। यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई चलचित्रमा समेटिएको उनले बताए।

चलचित्रमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायत कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिएका छन्।

त्यस्तै, बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन्। यसै चलचित्रमार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।

चलचित्र ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।