टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान घोषणा, विश्वमाझ नेपालको पर्यटन प्रवर्द्धन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाललाई विश्वभरका पर्यटकमाझ उत्कृष्ट ‘स्टोरी टेलिङ’ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल क्याम्पेन’ घोषणा गरेको छ।

शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रममा नेपाल पर्यटन बोर्डले विभिन्न देशबाट नेपाल आएका कन्टेन्ट क्रिएटरहरूले तयार पारेका भिडियो सार्वजनिक गर्दै ‘नेपाल पर्यटन बोर्ड (एनटीबी)–टिकटक भिजिट नेपाल क्याम्पेन’ घोषणा गरेको हो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले नेपाललाई विश्व पर्यटन बजारमा आकर्षक कथात्मक गन्तव्यका रूपमा स्थापित गर्न टिकटकसँगको सहकार्यमा अभियान सुरु गरिएको बताए। उनले यस अभियानलाई सफल बनाउन टिकटक टिमसँग इमेल, फोन तथा निरन्तर समन्वय गर्दै दुई वर्षसम्म मेहनत र प्रयास गरिएको जानकारी दिए।

उनका अनुसार प्रारम्भमा पर्यटन मन्त्रालयसँग भएको सामान्य छलफलबाट सुरु भएको प्रयास अहिले महत्त्वपूर्ण उपलब्धिका रूपमा परिणत भएको हो। सामूहिक प्रयास, निरन्तर समन्वय र विश्वभरका कन्टेन्ट क्रिएटरहरूको सक्रियताले अभियानलाई सफल बनाउन सहयोग पुगेको उनले बताए।

शर्माले नेपाल प्राकृतिक रूपमा नै उत्कृष्ट ‘स्टोरी टेलिङ’ गन्तव्य भएको उल्लेख गर्दै यहाँ आउने पर्यटकले यात्रा मात्र नभई अविस्मरणीय, गहिरो र परिवर्तनकारी अनुभव प्राप्त गर्न सक्ने बताए।

यस अभियानमार्फत विश्वभरका कन्टेन्ट क्रिएटरहरूलाई नेपालमा आमन्त्रण गरी यहाँको प्राकृतिक सौन्दर्य, जैविक विविधता, स्थानीय जनजीवन, संस्कृति तथा मौलिक अनुभवलाई भिडियोमार्फत विश्वसामु पुर्‍याउने लक्ष्य राखिएको छ।

उनले टिकटकसँगको सहकार्यले नेपालको पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने बताए।

त्यस्तै, मन्त्री विक्रम तिमल्सिनाले यस सहकार्यले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान र पर्यटन ब्रान्डिङलाई थप मजबुत बनाउनुका साथै विदेशी पर्यटक आकर्षित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे।

टिकटकजस्ता विश्वव्यापी डिजिटल प्लेटफर्ममार्फत नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय विविधतालाई विश्वसामु प्रस्तुत गर्दा नेपालको पर्यटन क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा थप अवसर प्राप्त गर्ने विश्वास गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।