add

नेपाली प्लाइउडमा भारतकाे अघोषित नाकाबन्दी, उद्योग संकटमा






ActPro Nepal

|

१२ चैत, २०८१

|
181

झापा।  भारतले नेपालमा उत्पादित प्लाइउडको निर्यातमा अवरोध पुर्‍याएको छ।

भारतीय भन्सार कार्यालयले नेपालबाट भारत निर्यात गरिएको प्लाइउडलाई आवश्यक गुणस्तर प्रमाणपत्र (बीआइएस) नहुँदा रोकिदिएको छ। मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईंका अनुसार ३४ वटा ट्रक प्लाइउड दुई साताअघि काँकडभिट्टा नाका हुँदै भारत प्रवेश गरेका थिए। ती ट्रकहरू भारतको पानीट्याङ्कीस्थित भन्सार कार्यालय रानीगञ्जमा रोकिएको छ। भारतीय भन्सारले बीआइएस प्रमाणपत्र नबनेका कारण प्लाइउडको निकासीमा अवरोध गरेको हो।

बीआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो, जसले भारतीय बजारमा प्रवेश पाउने सामानको स्तर निर्धारण गर्छ। भारतले आयात गरिने सामानमा बीआइएस प्रमाणपत्र अनिवार्य गरेपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायतका वस्तुहरूको निर्यात अवरुद्ध भएको छ। नेपालमा हाल ८० वटा प्लाइउड उद्योग सञ्चालनमा छन्।

एउटा उद्योग स्थापना गर्न कम्तीमा २५ करोड रुपैयाँ लगानी आवश्यक पर्ने उद्योगीहरूको भनाइ छ। भारतीय भन्सारको अवरोध नहटे यी उद्योगमा गरिएको अर्बौं रुपैयाँको लगानी जोखिममा पर्ने उद्योगीहरू बताउँछन्। साथै, हजारौं कामदार बेरोजगार हुने खतरा रहेको छ।

भारतीय भन्सारले रोकिएका सामान तत्काल नेपाल नफर्काए जफत गरिने चेतावनी दिएको छ। नेपाली पक्षले भने ती सामानको निर्यातका लागि भारत सरकारलाई वस्तु तथा सेवा कर (जीएसटी) समेत बुझाइसकेको जनाएको छ। मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ऋषि तिम्सिनाले भारतले नेपालबाट धेरै निर्यात हुने प्लाइउड र सिमेन्टमा अवरोध गर्दा मुलुकलाई ठूलो आर्थिक क्षति पुगेको बताए। प्लाइउड व्यापार घाटा न्यूनिकरण गर्न महत्त्वपूर्ण निर्यात वस्तु भएकाले यसको निर्यात निर्वाध बनाउन नेपाल सरकारले भारतसँग उच्चस्तरीय समझदारी गर्नुपर्ने उनको सुझाव छ।

भारतीय भन्सारको अवरोध नहट्दा नेपाली प्लाइउड उद्योगमा संकट देखिएको छ। उद्योगहरूले कामदारहरूको कार्यसमय घटाउन थालेका छन्। पहिले २४ घण्टा सञ्चालन हुने कारखानाहरू अहिले मुस्किलले ८ घण्टा मात्र सञ्चालन भइरहेका छन्। प्लाइउड निर्यातको अवरोध हटाउन माग गर्दै मेची उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघलाई पहल गरिदिन पत्राचार गरेको छ। महासंघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा भारतीय राजदूतावाससँग छलफल गरिरहेको संघका अध्यक्ष प्रसाईंले जानकारी दिए।

‘प्लाइउड निर्यात रोकिनु हुँदैन’, प्रसाईंले भने, ‘नेपाली उद्योगहरूले बीआइएसका लागि आवेदन दिएको एक वर्ष भइसक्यो। अहिलेसम्म न प्रमाणपत्र दिएको छ, न भन्सार खुला गरेको छ।’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.