काठमाडौं । जीवन बीमालेख समपर्ण (पोलिसी सरेन्डर) अत्यासलाग्दो रुपमा बढेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिना (साउन–फागुन) मा मात्रै झण्डै १० अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको फागुन मसान्तसम्म १४ जीवन बीमा कम्पनीका बीमितले ९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरी रकम फिर्ता लिएका छन्। यस अवधिमा कुल ७१ हजार ५५४ वटा पोलिसी सरेन्डर भएका छन्।
चालु आवमा भएको पोलिसी सरेन्डर बीमा कम्पनीहरूले यही अवधिमा गरेको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) को ४६.७५ प्रतिशत रकम बराबर हो। चालु आवको आठ महिनामा जीवन बीमा कम्पनीहरूले २१ अर्ब १२ करोड रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेका छन्। जबकि, यही अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ।
बीमितहरूले नियमित प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका छन्। पोलिसी सरेन्डर घटाउन नियामक निकाय र बीमा कम्पनीहरूले प्रयास गरे पनि रोकिन सकेको छैन। नयाँ व्यवसाय विस्तार सुस्त भइरहँदा पुराना पोलिसी धमाधम सरेन्डर हुन थालेपछि जीवन बीमा कम्पनीहरूको व्यवसायमै धक्का पर्न थालेको छ। बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो।
अर्थतन्त्रमा आएको मन्दीको असर बीमा व्यवसायमा पनि देखिएको बीमा व्यवसायीहरू बताउँछन्। आम्दानी नहुँदा बीमितले समयमै बीमा शुल्क तिर्न नसक्दा सरेन्डरको समस्या देखिएको उनीहरूको भनाइ छ। आर्थिक मन्दीका कारण मानिसको आम्दानी खुम्चिँदा नियमित प्रिमियम तिर्न नसक्ने अवस्था सिर्जना भएको छ। विगतमा नियमित रूपमा प्रिमियम तिर्दै आएका बीमितहरूले अहिले प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका छन्।
त्यस्तै, पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्याले पनि बीमा व्यवसाय प्रभावित भएको देखिन्छ। सहकारीमा पैसा राखेका व्यक्तिहरूले ब्याज र आफ्नो पैसा फिर्ता नपाउँदा पनि बीमितले प्रिमियम तिर्न नसकेका हुन्। नेपाल बीमा प्राधिकरणका अधिकारीहरूका अनुसार अभिकर्ताले कमिसनको लागि जथाभावी बीमितलाई पोलिसी थमाउँदा पनि सरेन्डरको क्रम बढेको छ।
बीमा दाबी भुक्तानीमा हुने ढिलाइ र बीमा कम्पनीहरू प्रति घट्दो विश्वासका कारण पनि पोलिसी सरेन्डर बढ्दै गएको बीमा क्षेत्रका जानकारहरू बताउँछन्। राष्ट्रिय जीवन बीमा कम्पनी र एलआईसी नेपालको सरेन्डर रकम नयाँ व्यवसायभन्दा पनि धेरै रहेको छ। यी कम्पनीहरूले चालु आवमा संकलन गरेको प्रथम बीमाशुल्कभन्दा पोलिसी सरेन्डर गरेर फिर्ता लगेको रकम धेरै छ।
चालु वर्षको आठ महिनामा सबैभन्दा ठूलो धक्का लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाललाई लागेको छ। यस अवधिमा एलआईसीका १७ हजार ८८९ बीमितले पोलिसी सरेन्डर गरेका छन्। उनीहरूले ३ अर्ब ९ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन्, जुन कुल सरेन्डरको ३१.३८ प्रतिशत हो।
नेपाल लाइफ इन्स्योरेन्सको पनि २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ बराबरको १५ हजार ५७२ वटा पोलिसी सरेन्डर भएको छ। नेपाल लाइफले ५ अर्ब २४ करोड रुपैयाँ नयाँ बीमाशुल्क संकलन गर्दा २ अर्ब ६३ करोडको पोलिसी सरेन्डर भएको हो।
यस अवधिमा नेशनल लाइफको ६० करोड ५१ लाखको ४ हजार १६० वटा, एशियन लाइफको ६१ करोड १४ लाख रुपैयाँको ५ हजार ८२४ वटा, सूर्यज्योति लाइफको ५३ करोड २१ लाख रुपैयाँको ३ हजार ९६२ वटा र हिमालयन लाइफको ४२ करोड २७ लाख रुपैयाँ बराबरको ४ हजार ५८४ वटा पोलिसी सरेन्डर भएका छन्।
त्यसैगरी, मेटलाइफको २७ करोड ९९ लाखको २ हजार ३७८ वटा, सानिमा रिलायन्स लाइफको १७ करोड ४५ लाखको १ हजार २४७ वटा, सिटिजन लाइफको १८ करोड ४४ लाखको १ हजार ९५९ वटा, प्रभु महालक्ष्मी लाइफको १४ करोड २० लाखको १ हजार २० वटा, आइएमई लाइफको १३ करोड ५३ लाखको १ हजार १९० वटा, रिलायबल नेपाल लाइफको ७ करोड ४४ लाखको १ हजार ९६ वटा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांक छ।
आठ महिनामा सबैभन्दा कम पोलिसी सरेन्डर सन नेपाल लाइफका बीमितले गरेका छन्। यसका ५२६ बीमितले ५ करोड ५५ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।