काठमाडौं । भारतले रातको समयमा थप पाँच घण्टा विद्युत उपलब्ध गराउन थालेसँगै नेपाली उद्योगहरूमा २४ सै घण्टा विद्युत आपूर्ति सुरू भएको छ। इण्डियन इनर्जी एक्सचेञ्जबाट रातको समयमा थप ६ सय मेगावाट विद्युत आयात भएपछि उद्योगमा जारी १२ घन्टाको लोडसेडिङ बिहीबार रातिदेखि नै हटेको हो।
नेपाल विद्युत प्राधिकरणले उद्योगहरूलाई सूचना जारी गर्दै साँझ ५ देखि ११ बजेसम्म धेरै लोड नपर्ने बत्ती मात्र प्रयोग गर्न आग्रह गरेको छ भने अन्य समयमा पूर्ण रूपमा बिजुली चलाउन अनुमति दिएको छ। उद्योगहरूमा १२ घन्टाको लोडसेडिङ हटेपछि व्यवसायीहरूले राहत महसुस गरेका छन्।
भारतले थप ५ घण्टा विद्युत आपूर्ति गर्न सहमति जनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र परराष्ट्र मन्त्री डा. आरजु राणाको कूटनीतिक पहलले महत्त्वपूर्ण भूमिका खेलेको हो। ऊर्जा मन्त्रालयका अनुसार सोलार आवर बाहेक राति ११ बजेदेखि ४ बजेसम्म आवश्यक ६ सय मेगावाट विद्युत आपूर्ति गर्ने सहमति भएको छ।
रातको समयमा विद्युत उपलब्ध हुन थालेपछि पिक आवरको चाप कम हुनेछ। पिकिङ प्लान्टमा पानी जम्मा गरेर पिक आवरमा बिजुली निकाल्न सकिने भएकाले घर तथा उद्योगमा लोडसेडिङ हुन नदिन नेपाल विद्युत प्राधिकरणले तयारी गरेको छ।
उक्त विद्युत आपूर्ति ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालमा आउनेछ। हाल भारतले सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत उपलब्ध गराइरहेको छ। नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिपछि लोडसेडिङ हुनसक्ने हल्ला चलेको थियो। तर भारतले थप ६ सय मेगावाट बिजुली उपलब्ध गराउने सहमति गरेसँगै उद्योगहरूमा विद्युत आपूर्तिको समस्या समाधान भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार उद्योगमा लोडसेडिङ हटेसँगै औद्योगिक गतिविधि सक्रिय हुने र उत्पादन दरमा वृद्धि हुने अपेक्षा गरिएको छ। विद्युत आपूर्ति सहज भएसँगै उद्योग व्यवसाय सञ्चालनमा आउने आशाले व्यवसायीहरूमा उत्साह छाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।