नारायण रायमाझीको निर्देशनमा ‘बसन्ती’ बन्ने, खेम सेन्चुरी र टेरिया मुख्य भूमिकामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्देशक तथा निर्माता नारायण रायमाझीको निर्देशन र निर्माणमा नयाँ नेपाली चलचित्र ‘बसन्ती’ बन्ने भएको छ। शुक्रबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण पक्षले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको हो।

‘बसन्ती’ नाममा यसअघि २०५७ सालमा निर्देशक नीर शाहले चलचित्र निर्माण गरेका थिए। उपन्यासकार डायमण्ड शमशेर राणाको चर्चित उपन्यास ‘बसन्ती’मा आधारित उक्त चलचित्र प्रदर्शनमा आएको २६ वर्षपछि सोही नाममा रायमाझीले नयाँ चलचित्र निर्माण गर्न लागेका हुन्।

नयाँ ‘बसन्ती’मा लोकगायक तथा संगीतकार खेम सेन्चुरी र मोडल टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन्। यसै चलचित्रमार्फत खेमले अभिनयमा डेब्यु गर्न लागेका हुन्।

निर्देशक रायमाझीको यो चौथो निर्देशकीय चलचित्र हो। यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरिसकेका छन्।

निर्माण पक्षका अनुसार चलचित्रको काठमाडौं सेड्युलको छायांकन असोज ३ गते शनिबारदेखि सुरु हुनेछ। चलचित्रको छायांकन काठमाडौंसँगै पाल्पा, जनकपुर र बुटवल तथा भारतका विभिन्न स्थानमा गरिनेछ।

रिमा फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रको कथावस्तुबारे भने निर्माण पक्षले हालसम्म जानकारी सार्वजनिक गरेको छैन।

चलचित्रमा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल र हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।

चलचित्रमा निर्देशक रायमाझी स्वयंको लगानी रहनेछ भने कथा रमेश बिजीले लेखेका छन्।

चलचित्रका गीतमा रमेश बिजी, लालगोपाल सुवेदी, बिबी अनुरागी र नारायण रायमाझीको शब्द रहनेछ। संगीत बिबी अनुरागी र नारायण रायमाझीले दिनेछन्। चलचित्रको छायांकन शिव ढकालले गर्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।