नेपाल टेलिकमले तीन महिनामा गर्‍यो साढे ९ अर्बको व्यापार, खुद नाफा १ अर्ब ८२ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा करिब साढे ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । टेलिकमले चालु आवको साउनदेखि असोजसम्ममा ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँको व्यापार गरेको छ ।

टेलिकमले गरेको यो व्यापार आवको पहिलो त्रैमासको कुल आयसमेत हो । उक्त रकम गत आव २०८२/८३ को सोही अवधिको तुलनामा ६६ लाख ४६ हजार (०.०७ प्रतिशत) ले बढी हो । टेलिकमले गत आवको पहिलो त्रैमासमा ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

चालु आवको प्रथम त्रैमासिकसम्मको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँको तुलनामा भने १२ लाख ६० हजार रुपैयाँ (०.०१ प्रतिशत) ले कम भएको देखिएको छ ।

टेलिकमले करिब साढे ९ अर्ब रुपैयाँ हाराहारीमा आम्दानी गर्दा चालु आवको प्रथम त्रैमासिकसम्मको ब्याज आम्दानी, कर, ह्रासकट्टी अघिको नाफा ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिको तुलनामा २९ करोड १४ लाख रुपैयाँ (६.१३ प्रतिशत) ले कम भएको छ । गत वर्ष टेलिकमको कर अघिको नाफा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ थियो ।

यो आर्थिक वर्षको प्रथम त्रैमासिकसम्मको कर अघिको मुनाफा २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कर अघिको मुनाफा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँको तुलनामा १० करोड ५२ लाख रुपैयाँ (३.६५ प्रतिशत) ले बढी भएको नेपाल टेलिकमले जानकारी दिएको छ ।

चालु आवको प्रथम त्रैमासिकसम्मको खुद मुनाफा १ अर्ब ८२ करोड १ लाख रहेको छ । उक्त रकम गत आवको सोही अवधिको खुद मुनाफा १ अर्ब ३२ करोड ५१ लाखको तुलनामा ४९ करोड ४९ लाख (३७.३५ प्रतिशत) ले बढेको पनि टेलिकमले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । नेपाल टेलिकमको प्रतिशेयर आम्दानी वार्षिक ४० रुपैयाँ ४५ पैसा छ ।

गत भदौ १० मा रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित सेवाग्राहीहरूलाई नेपाल टेलिकमले १७ दिनका लागि निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराएको थियो । उक्त प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुनु तथा व्यावसायिक गतिविधिमा व्यवधान उत्पन्न हुन गई सेवा बिक्रीमा समेत कमी आएको कारण टेलिकमको व्यापारमा समेत प्रभाव परेको उल्लेख छ ।

असोज २५ को बूढीगण्डकी बाढीका कारण समेत सेवामा नकारात्मक प्रभाव पर्न गएको थियो । त्यतिबेला पनि टेलिकमले निःशुल्क सेवा उपलब्ध गराएको र सेवा सञ्चालनमा आएको अवरोधका कारण उक्त अवधिको सेवा बिक्रीबाट प्राप्त हुने राजस्वमा प्रतिकूल असर परेको बुझाइ टेलिकमको छ ।

कम मूल्य तथा ठूला मोबाइल डाटा प्याकेजको बढ्दो प्रयोगका कारण समेत जीएसएम सेवा समेतको कार्य सञ्चालन राजस्व बढेको र कार्य सञ्चालन राजस्वको हकमा जीएसएम र एफटीटीएचतर्फ क्रमशः १० लाख १६ हजार र ४ करोड ४० लाखले वृद्धि भएको पनि नेपाल टेलिकमले जानकारी दिएको छ ।

यस आवमा तलब स्केलमा भएको वृद्धिका कारण कर्मचारी खर्चमा वृद्धि भएको छ भने ह्रास खर्चमा कमी र मूल्यह्रास क्षति फिर्ता समायोजन भएको कारणले खुद खर्चमा ४८ करोड १२ लाख (५.९० प्रतिशत) ले कमी आएको देखिएको पनि टेलिकमको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।