‘बा: एक योद्धा’ को ट्रेलरमा बुबाको त्याग र गुन भुल्ने सन्तानको कथा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । हरि लम्साल निर्देशित चलचित्र ‘बा: एक योद्धा’को ट्रेलर सार्वजनिक भएको छ।

निर्माण पक्षले आज (शुक्रबार) काठमाडौँमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलर बुवाले सन्तानका लागि गरेको संघर्ष र त्यागको वरिपरि घुमेको छ। आफ्नो सन्तानको सुख र खुसीका लागि बुबा जस्तोसुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने ट्रेलरले सन्देश दिएको छ।

आफ्ना सन्तानका लागि बलिदान दिन तयार हुने बाबुआमा तर सन्तानले त्यसको गुन भुल्ने समाज निर्माण हुँदै गएको पछिल्लो तीतो यथार्थलाई ट्रेलरमा समेटिएको छ।

आफ्नो सन्तानको खुसीका लागि आफू बसेको घर पनि बेच्न तयार बाबुलाई सन्तानले दिएको दुःख र त्यसको परिणाम ट्रेलरमा देखिन्छ।

नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा: एक योद्धा’को मुख्य कथा रहेको निर्माण पक्षले बताएको छ।

यस फिल्ममा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो फिल्म कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा भदौ १९ गते रिलिज हुँदैछ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन्।

फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सहनिर्माता कृष्ण काफ्ले रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।