डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’ को ट्रेलर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती तथा जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को ट्रेलर सार्वजनिक गरिएको छ।

सार्वजनिक ट्रेलरले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्रालाई प्रस्तुत गर्दै मानवीय साहस, संघर्ष, दृढ संकल्प र लक्ष्यप्रतिको अटल विश्वासको शक्तिशाली झलक देखाएको छ।

निर्माण पक्षका अनुसार नेपाली प्राविधिकहरूको संलग्नतामा तयार गरिएको यस वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटरद्वारा सिर्जित दृश्य (सीजीआई) प्रयोग गरिएको छैन। समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई समेटिएको यो पूर्णतः वास्तविक दृश्यमा आधारित पहिलो वृत्तचित्र भएको दाबी गरिएको छ।

दुई वर्ष लामो अनुसन्धान, छायांकन तथा निर्माण प्रक्रियापछि तयार भएको वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। चर्चित सञ्चारकर्मी भूषण दाहालको आवाज रहेको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गरिएको छ।

वृत्तचित्रमा ५० वर्ष नाघिसकेका राज गुरुङको प्रेरणादायी यात्रा प्रस्तुत गरिएको छ। उनले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको कथा वृत्तचित्रको मुख्य आधार बनेको छ।

निर्माण पक्षका अनुसार यो केवल एउटा हिमाल आरोहणको कथा नभई सपना, संघर्ष, आत्मविश्वास र असम्भवलाई सम्भव बनाउने मानवीय इच्छाशक्तिको कथा हो।

निर्देशक निर्मल श्रेष्ठले वृत्तचित्रमार्फत सगरमाथाको भव्यता मात्र नभई आरोहणका जोखिम, शेर्पा समुदायको अथक योगदान, मानवीय साहस तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा परिवर्तन हुँदै गएको हिमाली वातावरणलाई समेत गहिराइका साथ प्रस्तुत गर्ने प्रयास गरेका छन्।

वृत्तचित्रले सगरमाथालाई केवल एउटा हिमालका रूपमा नभई साहस, संघर्ष, अठोट र मानवीय क्षमताको प्रतीकका रूपमा चित्रण गरेको निर्माण पक्षले जनाएको छ।

‘रोड टु एभरेस्ट’ मा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा प्रमुख पात्रका रूपमा देखिनेछन्। फुर्वा तेन्जिङले हालसम्म सगरमाथाको १८ पटक सफल आरोहण गरिसकेका छन् भने निमा ग्याल्जेनले १० पटक सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। निमा ग्याल्जेन विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालको सफल आरोहण गर्ने आरोहीसमेत हुन्।

यस यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ सहयात्री पात्रका रूपमा देखिनेछन्।

निर्माण पक्षका अनुसार वृत्तचित्रको नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा तथा अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ गते हङकङमा आयोजना गरिनेछ। त्यसपछि वृत्तचित्रलाई नेपालका विभिन्न स्थानका साथै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, मञ्च तथा सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारी गरिएको छ।

सामाजिक संस्था ‘वि विल राइज फाउण्डेसन’ द्वारा निर्मित ५० मिनेट लामो यस वृत्तचित्रको उद्देश्य दर्शकलाई प्रेरणा दिनुका साथै नेपालको पर्यटन प्रवर्द्धन गर्नु र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे विश्वव्यापी ध्यानाकर्षण गराउनु रहेको निर्माण पक्षले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।