काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आगामी असार १८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत ४९ प्रतिशत शेयरमध्ये कम्पनीले कुल ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासनको अनुमति पाएको थियो। त्यसअनुसार ९ लाख ९ हजार १०१ कित्ता शेयर पहिलो चरणमा वितरण गरिसकिएको छ।
दोस्रो चरणमा, ७० हजार ९१० कित्ता कर्मचारीहरूका लागि, १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि छिटोमा असार २२ गते र ढिलोमा असार ३२ गते बन्द हुने जानकारी दिइएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले निर्वाह गरेको छ।
विकास हाइड्रोपावरको आईपीओप्रति लगानीकर्ताहरूको चासो बढेको देखिएको छ, विशेषतः ऊर्जाक्षेत्रमा लगानी गर्न चाहनेको लागि यो अवसर आकर्षक मानिएको छ।
Comment