काठमाडौं । पत्रकार पक्राउ प्रकरणले चौतर्फी आलोचना बढेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।
रास्वपा सभापति रवि लामिछानेले शनिबार बिहान ११ बजे बस्ने गरी पार्टीको सचिवालय बैठक आह्वान गरेका हुन्। समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भन्दै शुक्रबार राति नै पार्टीका नेताहरूलाई बैठकमा उपस्थित हुन सन्देश पठाइएको रास्वपाका एक नेताले जानकारी दिएका छन्।
यसअघि शुक्रबार साँझ सभापति लामिछानेले कानुनमन्त्री सोबिता गौतमसहित कानुनविद् रहेका पार्टीका सांसदहरूसँग छलफल गरेका थिए।
शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरी नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत तथा मोटिभेट न्युजका अध्यक्ष एवं प्रधान सम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएका थिए।
त्यस्तै, पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी नयाँ पत्रिकाको कार्यालयमै पुगेको थियो। मैनाली कार्यालयमा नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तसँग करिब अढाई घण्टा छलफल तथा विवाद गरेको थियो।
पत्रकार पक्राउको घटनाप्रति विभिन्न राजनीतिक दल, पत्रकार महासंघ तथा सञ्चार क्षेत्रबाट चर्को आलोचना भएपछि सरकार र सरकारको नेतृत्व गरिरहेको रास्वपाले घटनाबारे आफूहरूलाई कुनै जानकारी नभएको भन्दै छुट्टाछुट्टै वक्तव्य जारी गरेका थिए।
पत्रकार पक्राउ प्रकरणले सरकार र सत्तारूढ दलमाथि दबाब बढिरहेका बेला बोलाइएको रास्वपाको सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ।




Comment