राष्ट्र बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट तरलता व्यवस्थापनका लागि १ खर्ब ५० अर्ब (१५० अर्ब) रुपैयाँ तरलता खिच्ने भएको छ । तरलता प्रशोषणका लागि केन्द्रीय बैंकले ८ दिने निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने जनाएको छ ।

२०८३ कात्तिक १२ गते बिहीबार बोलकबोल हुने निक्षेप संकलन उपकरण बिहीबार नै निष्कासन हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले २०८३ कात्तिक १२ गते दिउँसो ३ बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ मार्फत मात्र बोलकबोल पेस गर्न सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ कात्तिक २० गते गरिनेछ । निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुने जनाइएको छ ।

उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यस प्रक्रियामा बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था रहेको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकतामा राखिनेछ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी माग भएमा प्रो–राटा आधारमा बाँडफाँड गरिनेछ । बोलपत्र स्वीकृत भएका काउन्टरपार्टीको खातामा निष्कासनका दिन पर्याप्त मौज्दात नभएमा त्यस्ता संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।

यो निक्षेप संकलन उपकरणलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ । लगानी गरेको रकम सम्बन्धित बैंकको लगानी पोर्टफोलियो हुने भएकाले यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । तर, वैधानिक तरलता अनुपात तथा तरलता अनुपातमा गणना गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । निक्षेप रकम तोकिएको भुक्तानी मिति अगावै फिर्ता भुक्तानी वा ‘प्रि–म्याच्योर’ नहुने सूचनामा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।