काठमाडौं । सञ्चारगृहमा प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले आपत्ति जनाएका छन्।
राज्यका संयन्त्रहरू लोकतान्त्रिक विधि, प्रक्रिया, संस्कार र आचरणबाट विचलित हुन नहुने टिप्पणी गर्दै अर्यालले प्रेस स्वतन्त्रता र मानव अधिकारको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत राज्य वा गैरराज्य पक्ष कसैले पनि सञ्चारगृह र पत्रकारको व्यावसायिक पत्रकारिता गर्न पाउने स्वतन्त्रता कुण्ठित गर्न नपाउने अन्तर्राष्ट्रिय मान्यता रहेको उल्लेख गरेका छन्।
‘सबैले मानव अधिकार तथा प्रेस स्वतन्त्रताको सम्मान गरौँ। लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता एवम् व्यावसायिक पत्रकारितामा हस्तक्षेप गर्ने कार्यको रोकथाम होस्,’ अर्यालले लेखेका छन्।
शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालय र साइबर ब्युरोको टोलीले नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका शोभराज बराल र डीएनखबरका धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। घटनाको चौतर्फी आलोचना भएपछि उनीहरूलाई केही घण्टामै रिहा गरिएको थियो।
यद्यपि, पत्रकारलाई नियन्त्रणमा लिनुको स्पष्ट कारण प्रहरीले सार्वजनिक गर्न सकेको छैन। यसैबीच प्रधानमन्त्रीको सचिवालयले पत्रकार पक्राउ गर्न प्रधानमन्त्रीले निर्देशन नदिएको दाबी गरेको छ। तर पक्राउ परेका पत्रकारलाई रिहा गर्न भने प्रधानमन्त्रीले निर्देशन दिएको सचिवालयको भनाइ छ।
प्रेस स्वतन्त्रता र सञ्चारगृहमाथिको प्रहरी हस्तक्षेपलाई लिएर राजनीतिक वृत्त तथा पत्रकारिता क्षेत्रबाट सरकारको आलोचना भइरहेको छ।




Comment