काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट मध्यरातिको समयमा प्रदेशसभामा प्रस्तुत गरेको छ। बजेट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले राति १२ बजे केही मिनेटअघि सभामा पेस गरेका हुन्।
सामान्यतया दिउँसो ३ बजेका लागि तय गरिएको सभा सत्ता पक्ष र प्रतिपक्षबीचको विवादका कारण दिनभर अवरुद्ध हुँदा अन्ततः रातिमा सहमति जुटाएर बजेट प्रस्तुत गरिएको हो। कानुनतः असार १ गतेभित्रै बजेट ल्याउनुपर्ने बाध्यताले गर्दा दलहरूबीच सहमति गराएर रातिको समयमा बजेट प्रस्तुत गर्नुपरेको मन्त्री शाहले बताए।
प्रस्तावित बजेटमध्ये चालू खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार (२३.६४ प्रतिशत) र पुँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार (६०.५५ प्रतिशत) विनियोजन गरिएको छ। त्यस्तै, वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख (१.८६ प्रतिशत) र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार (१३.९५ प्रतिशत) बजेट छुट्याइएको छ।
आगामी वर्षका लागि प्रस्तुत बजेट चालू आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले वृद्धि गरिएको छ। बजेटमा भौतिक पूर्वाधार निर्माण, कृषि, पर्यटन, तथा उद्योग क्षेत्रलाई प्राथमिकता दिइएको जनाइएको छ।
प्रदेश सरकारले यो बजेटमार्फत विकास र समृद्धिका लक्ष्यहरू हासिल गर्न नीतिगत र कार्यान्वयन पक्षमा सुधार ल्याउने अपेक्षा लिएको छ।
Comment