पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी हस्तक्षेपविरुद्ध महासंघको आज बृहत् प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रवेश गरेर प्रहरीले सिर्जना गरेको त्रास र हस्तक्षेपविरुद्ध नेपाल पत्रकार महासंघले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ।

महासंघका अनुसार शनिबार बिहान ८ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन सुरु हुनेछ। प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारमाथि भएको धरपकडविरुद्ध प्रदर्शन गर्न लागिएको हो।

शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरी नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएका थिए।

त्यस्तै, पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी नयाँ पत्रिकाको कार्यालयमै पुगेको थियो। मैनाली कार्यालयमा नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग करिब अढाई घण्टा विवाद गरेको थियो।

घटनाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयले पत्रकार पक्राउ गर्ने घटनामा प्रधानमन्त्रीको कार्यालय तथा सचिवालयको कुनै संलग्नता नरहेको दाबी गरेको थियो।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत पत्रकार पक्राउ गर्ने विषयमा प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नभएको बताएकी थिइन्।

यसैबीच, प्रहरीले नियन्त्रणमा लिएका सबै पत्रकार रिहा भइसकेको जनाएको छ। पत्रकार रिहा भए पनि सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाको विरोध जारी छ।

प्रेस स्वतन्त्रताको रक्षा र सञ्चारमाध्यममाथिको हस्तक्षेप अन्त्यको माग गर्दै महासंघले आह्वान गरेको प्रदर्शनलाई पत्रकारिता क्षेत्रले चासोका साथ हेरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।