प्रकाश दूतराजले बनाए सांगीतिक ब्यान्ड, भदौ १२ म्याग्दीबाट प्रस्तुतिसहित औपचारिक घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित लोकगायक प्रकाश दूतराजले आफ्नो सांगीतिक यात्रामा नयाँ अध्याय थप्दै आफ्नै नेतृत्वमा ‘दूतराज प्रकाश एन्ड लाइनअप’ नामक लोकसांगीतिक ब्यान्ड स्थापना गरेका छन्।

ब्यान्डको औपचारिक घोषणा यही भदौ १२ गते शुक्रबार साँझ म्याग्दीको बेनीस्थित खुलामञ्चमा हुने भएको छ। म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा हुने कार्यक्रममा ब्यान्डले पहिलोपटक प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ।

ब्यान्डमा प्रकाश मुख्य गायक (लिड भोकलिस्ट) का रूपमा रहनेछन्। ध्वनि प्राविधिक तथा विभिन्न वाद्यवादकसहित ब्यान्डमा ११ जना सदस्य छन्।

प्रकाशका लागि ब्यान्डको पहिलो घोषणा र प्रस्तुति जन्मभूमि म्याग्दीबाटै गर्नु विशेष अर्थ राख्छ। आफूलाई पहिलोपटक स्टेजमा गीत गाउने अवसरसमेत म्याग्दी उद्योग वाणिज्य संघले दिएको स्मरण गर्दै उनले जीवनको नयाँ अध्याय सुरु गर्नुअघि जन्मभूमिबाटै आशीर्वाद लिन चाहेको बताएका छन्।

सामाजिक सञ्जालमा आफ्नो भावना व्यक्त गर्दै प्रकाशले करिब १४ वर्षदेखि मनमा बोकेको सपना आफूले देखेकै ठाउँबाट सुरु गर्ने अवसर पाएको बताएका छन्। उनले नयाँ अभ्यास र नयाँ यात्राका लागि पुनः जन्मभूमिको आशीर्वाद लिन आएको उल्लेख गरेका छन्।

नेपालमा लोकदोहोरीलाई प्रत्यक्ष ब्यान्ड र मौलिक वाद्यवादनसहित कन्सर्टको स्वरूपमा प्रस्तुत गर्ने अभ्यास तुलनात्मक रूपमा नयाँ भएकाले प्रकाशले यसलाई आफ्नो सांगीतिक यात्राको नयाँ प्रयोगका रूपमा लिएका छन्। अहिलेसम्म अधिकांश प्रस्तुति ट्रयाकमा आधारित हुँदै आए पनि अब मौलिक बाजा, प्रत्यक्ष वाद्यवादन र लोकसंगीतको मौलिक स्वादलाई प्राथमिकता दिने उनको योजना छ।

बेनीमा पहिलो प्रस्तुति दिएपछि ‘दूतराज प्रकाश एन्ड लाइनअप’ ले नेपालका विभिन्न शहरमा सांगीतिक यात्रा गर्ने तयारी गरेको छ। त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा समेत प्रस्तुति दिने योजना ब्यान्डको रहेको जनाइएको छ।

मौलिक स्वाद र भावनात्मक प्रस्तुतिका कारण दर्शक–श्रोतामाझ लोकप्रिय प्रकाशका ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’, ‘छैन र माया’, ‘मनमाया’ लगायतका गीत चर्चित छन्।

जन्मभूमिबाटै नयाँ अध्याय सुरु गर्न लागेका प्रकाशको यो नयाँ सांगीतिक यात्राले नेपाली लोकसंगीतमा प्रत्यक्ष वाद्यवादन र ब्यान्ड संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।