add

आर्थिक सुधारको लागि आगामी कदम- डा. शंकरप्रसाद शर्मा






ActPro Nepal

|

२३ माघ, २०७८

|
968


सन् १९९० ताका संसारभरि नै आर्थिक सुधारको लहर चलेको थियो । त्यो भनेको अर्थतन्त्रलाई उदार बनाउनुपर्‍यो, सरकारले धान्न नसक्ने सार्वजनिक संस्थानलाई निजीकरण गर्नुपर्यो र निजी क्षेत्रको सहभागिता र लगानी बढाउनुप¥यो भन्ने हो । देश पञ्चायतबाट विस्तारै बहुदलीय व्यवस्थामा रूपान्तरण हुँदै थियो ।

यही समयमा विकास साझेदार निकायको सहयोगमा ‘आर्थिक उदारिकरण’ परियोजना पनि सुरु भयो । सँगसँगै नयाँ सरकार आयो र ८औं पञ्चवर्षीय योजना कार्यान्वयनमा गयो । यी गतिविधिले आर्थिक उदारिकरणलाई अगाडि बढाएको थियो ।

उदारीकरणको सुरुवात र अभ्यास

नियन्त्रण भइरहेको ठाउँमा लगानी सीमित हुन्छ । मान्छेहरूले आफ्ना नयाँ–नयाँ आइडिया तथा विचार अगाडि ल्याउन सक्दैनन् । अलिकति खुलापन गरिदियो भने मान्छेहरूले आफूसँग भएको रकम लगानी गर्न पाउँछन् । नयाँ विचारको प्रस्फुटन हुन्छ भनेर नै उदारिकरण अगाडि आएको हो ।

नेपालको सन्दर्भमा त विदेशी लगानी पनि आउला भन्ने अपेक्षा थियो । त्यो चरणको सुधारको कुरा गर्दा, लाइसेन्स (अनुमतिपत्र) को एकाधिकार खारेज भयो । मूल्य अभिवृद्धि कर (भ्याट), अन्य करलगायत वित्तीय उपकरणमा सुधार भयो । भन्सार महसुल कम गरियो । यसबाट आयातित वस्तु तथा कच्चा पदार्थ सस्तो होस्, उद्योगहरूलाई समेत सहयोग पुगोस् भन्ने थियो ।

यसैगरी, आयात–निर्यातका लागि चाहिने वैदेशिक मुद्रालाई खुला गरिएको थियो । यी सबै कारणले देशमा विदेशी लगानी भित्रियो । निर्यात पनि बढ्यो । गैरकृषि क्षेत्रको वृद्धिदर बढेर गयो । कृषिमा भने अपेक्षित भएन । कारण के थियो भने, १९७०–८० को दशकमा जंगल फँडानी गरेर उत्पादन बढी भएको थियो ।

सन् ९० पछि जंगल फँडानी गर्ने कुरा इतिहास भयो । त्यो बन्द नै भयो । त्यतिबेलाकै दरमा जंगल फँडानी हुने हो भने नेपालमा कुनै पनि रुख बाँकी रहँदैन भन्ने अध्ययन पनि आयो । यद्यपि गैरकृषि क्षेत्रमा द्रुत गतिको वृद्धि भएको हो ।

३० वटा जति सार्वजनिक संस्थान निजीकरण गरियो । सार्वजनिक संस्थान सरकारसँग हुँदा राजनीतिक हस्तक्षेप भइरहने, लगानी बढ्न नसक्ने र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्ने जस्ता कारणले निजीकरण गरियो । यसबाट यस्ता संस्थानले खुला प्रतिस्पर्धा गर्न सक्ने र बजार मूल्य बढाउन सक्ने अवस्था सिर्जना हुन्छ ।

यी करणले पहिलो चरणको आर्थिक सुधारको काम निकै सफल भयो । त्यतिबेलाको भ्याट प्रणाली अहिलेसम्म लागू भइरहेको छ । यसले नै राजस्वको एउटा ठूलो आधार तयार गरेको मान्नुपर्छ । हुनत, त्यसको कार्यान्वयनमा अझै समस्या छ ।

विकसित देशहरूको अध्ययन गर्‍यो भने अर्थव्यवस्था नयाँ ढाँचामा गइसकेपनि ६–७ वर्षसम्म पुरानै असर देखिँदोरहेछ । यसलाई ‘ट्र्याक’मा ल्याउन नियामक संयन्त्र बनाउन अलि बढी प्रयत्न गर्नुपर्छ । निजीकरणको कुरा गर्दा अस्वस्थ प्रतिस्पर्धाले गुणस्तरमा कमी ल्याउँछ । हामीले नियामक क्षेत्रमा राम्रोसँग काम गर्न सकेनौं ।

निजी क्षेत्र र उसको उत्पादनको गुणस्तर जाँच्नैपर्छ । जस्तै, अहिले नेपाल टेलिकम र एनसेल टेलिकम क्षेत्रमा मुख्य प्रतिस्पर्धी छन् । ती मिलेर काम गरे भने यहाँ जे पनि गर्न सक्छन् । तर, तिनलाई नियमन गर्ने दरिलो स्वतन्त्र र सबल निकाय अहिलेसम्म बन्न सकेको छैन ।

पहिलो चरणको सुधारमा पर्याप्त पूर्वाधार निर्माण हुन सकेनन् । त्यतिबेलै, पूर्वाधारमा ३–४ वटा कुरा गरिएको थियो । उदाहारणका लागि, द्रुतमार्ग (फास्ट ट्र्याक) जस्ता ठूलो परियोजना निर्माण । भारतको कोलकात्ता बन्दरगाहालाई पनि सुधार गर्नुपर्छ भनेर विश्व बैंकलगायतको कुरा आएको थियो ।

हामीले गर्न सक्ने, एकीकृत चेक पोइन्ट, भन्सार प्रक्रिया, सुख्खा बन्दरगाहा थिए । जुन अहिले बल्ल सुरु भएका छन् । यी काम भए पनि व्यापारको लागत घट्छ भन्ने थियो । केही लागू भए तर फास्ट ट्र्याक, औद्योगिक हबहरू कुनै पनि बन्न सकेनन् । हाम्रो कच्चा पदार्थ कृषिसँग सम्बन्धित उत्पादनहरु हुन् ।

यीसँग सम्बन्धित कुराहरूमा हामीले कहीँ सुधार गर्न सकेनौं । दीर्घकालीन कृषि योजना’ आयो, लागू हुन सकेन । अहिले ‘कृषि विकास रणनीति’ आएको छ । त्यो पनि त्यति सफलताका साथ लागू भइरहेको छैन ।

अहिले पनि २१ प्रतिशत खेतीयोग्य जमिनमा मात्र वर्षैभरि सिँचाइ पुग्छ । बीऊ–विजनको सन्दर्भमा ९ देखि १८ प्रतिशतसम्म नयाँ बीउ राख्न सकेका छौं । बजारीकणको कुरा गर्दा, अझै पर्याप्त पूर्वाधार बनेका छैनन् । क्वारेन्टाइन सर्टिफिकेसन क्वालिटीमा पनि समस्या छ ।

उत्पादित वस्तु भारत वा तेस्रो मुलुकमा पठाउनुपर्दा प्रमाणपत्र खोजिन्छ । तर, यसमा हामी चुकिरहेका छौं । विशेष आर्थिक क्षेत्र (सेज) मा पनि अगाडि बढ्न सकेनौं । यसका लागि जग्गा खोजियो, भवन निर्माण गरियो । नीति नियम पनि बनाइयो । तर, लगानीकर्तालाई आकर्षित गर्न सकिएन ।

यसको अर्थ, ऐन कानुन नियम त्यति लगानीमैत्री रहेनछ भन्ने देखियो । हामी भारतसँग प्रतिस्पर्धा गर्न सक्दा रहेनछौं भन्ने देखिएको छ । अर्कोतर्फ, प्रशासनिक झन्झट अझै पनि हटेन । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) सम्बन्धी नीति आयो तर प्रशासनिक झन्झटमा सुधार आएन ।

सरकारले उद्योगलाई बत्ती, बाटो दिन्छु भनेको दिन सकेन । बल्ल अलिअलि सुरु भएको छ, लामो समयपछि होङ्सी सिमेन्टले ग्रिडको बिजुली पायो । कृषि तथा पूर्वाधारको विकास नहुनु, नियामक संयन्त्र राम्रो नहुनुले हामीले पहिलो चरणमो सुधारमा अपेक्षित उपलब्धि हासिल गर्न सकेनौं ।

हामी चार÷पाँचवटा क्षेत्रमा अलि बढी नै चुक्यौं । बंगलादेशसँग तुलना गरेर हेर्दा, उसले ५० प्रतिशत खेतीयोग्य भूमिमा वर्षैभरि सिँचाइ पु¥याएको छ । तयारी पोशाक अर्थात् गार्मेन्ट उद्योगमा विदेशी लगानी ल्याएर उत्पादन धेरै नै माथि लग्यो । तयारी पोशाकमा त उसले क्रान्ति नै गर्‍यो । औषधीजन्य उत्पादनमा आफू आत्मनिर्भर भएर निर्यात गर्न थाल्यो । सूचना प्रविधिमा नेपालभन्दा धेरै पछि भन्ने सोचिएको थियो तर यसमा क्रान्ति नै गरेर लग्यो ।

हामीले गर्न सक्ने भनेको पर्यटनमा थियो । यसमा पनि, पूर्वाधार र प्रचार–प्रचार पुगेन । लुम्बिनीमै, देवदह, रामग्राम, तिलौराकोट जस्ता क्षेत्रमा ३÷४ दिन घुमाउन सक्ने बनाउन सक्थ्यौं । रारा जस्तो लोकप्रिय ठाउँमा पुग्ने गतिलो बाटो नै छैन । जबकि, कम्बोडियाको एंकरवाट हेर्नलाई वर्षमा २७ लाख मान्छे जान्छन् ।

त्यस्ता चिज त हाम्रा कति छन् कति । ऊर्जा तथा जलविद्युतमा हाम्रो आन्तरिक माग पुगेको थिएन । बल्ल–बल्ल लोडसेडिङ समाप्त भयो । अब निर्यातको सुरुवात गरेका छौं । निर्यात राम्रोसँग गर्न सकियो भने व्यापार घाटा कम गर्न सहयोग गर्छ । अरू क्षेत्र त विकास गर्न सकेनौं । यसो हुनुमा राजनीतिक अस्थिरता, दृष्टिकोणको कमी र प्राथमिकता कम देखियो ।

पहिलो चरणका कमजोरी

पहिलो त, पूर्वाधार निर्माण हो । जुन–जुन हाम्रा औद्योगिक हब हुन्, तिनलाई भन्सारसम्म र उत्पादनको क्षेत्रसम्म जोड्न सक्नुपर्ने हो । उद्योगधन्दालाई बाटोघाटो, पानी, बत्तीको सुविधा दिनुपर्ने । त्यसमा हामी चुकेकै छौं । दोस्रो, प्रशासनतन्त्रको अवरोध नै हो । उदारिकरणले मुख्य मुख्य कुराहरुमा बोल्यो । कर, भन्सार महसुल घटाइदियो । भ्याट लगाइदियो, लाइसेन्स चाहिँदैन भनिदियो । तर, कर्मचारीतन्त्रको अवरोध उस्तै रह्यो ।

उदाहरणका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा लगानीकर्ताले तीनवटा कुरालाई मुख्य समस्या मानेका छन् । पहिलो, दर्ता प्रक्रिया (प्रवेश), दोस्रो नाफा फिर्ता लैजाने र तेस्रो मजदुर समस्या । नियामक संयन्त्र पनि सहजीकरण गर्ने भन्दा दुःख दिने भइरहेको छ । कर्मचारीहरू फाइलमा हस्ताक्षर गर्ने हुँदा सुरक्षित हुन खोज्ने नै भए । जोखिम नलिने भए । राजनीतिज्ञले त्यो बुझ्न सकेनन् ।

भारतमा विदेशी लगानीका लागि एउटा ‘अटोमेटिक रुट’ छ । धेरै कुराहरु गर्न अहिले त्यहाँको रिजर्भ बैंकमा जानुपर्दैन । त्यो अटोमेटिक रुटमा दर्ता गरेपछि कुनै पनि निकायले विदेशी लगानी सञ्चालन गर्न पाउँछ । नेपालमा त्यस्तो छैन । हुनत, ७ दिन वा १५ दिनभित्र काम गर्ने भनेर लेखिएको त हुन्छ । तर, त्यहाँभित्र पसेपछि १० वटा प्रमाण र कागज माग्न थालिन्छ ।

विद्युत ऐनकै कुरा गरौं, दशकौंपछि अहिले बल्ल राष्ट्रियसभामा पुगेको छ । यसअघि तीन पटकसम्म संविधानसभामा पुगेर फक्र्यो । हो, कर्मचारीले काम गरेर त्यहाँसम्म पु¥याए तर उनीहरूले पनि राजनीतिज्ञलाई राम्रोसँग बुझाउन सकेनन् । यही कारण, लामो समयसम्म यो ऐन आउन सकेन । ऊर्जा मन्त्रीले यो ऐन ल्याउन नेतृत्व लिनुपर्छ ।

कर्मचारीतन्त्रीय अवरोधको निकास

कर्मचारीतन्त्रभित्रको अवरोध हटाउन राजनीति गर्ने व्यक्तिले वैकल्पिक क्षेत्रको कुरा सुन्नुपर्छ । सरकारभन्दा बाहिरको संयन्त्र वा विषयविज्ञ वा अर्थशास्त्रीका विचारलाई मनन् गर्नुपर्छ ।

भनौं न, ९० को दशकतिर एक खालको डर त थियो नि । महसुल घटाएपछि राजस्व नै आउँदैन कि ? तलब खान दिन नै सकिँदैन भन्ने थियो ।

तर, त्यस्तो भएन । राजनीतिज्ञले निर्णय गर्नुपर्‍यो । जिम्मेवार र उत्तरदायि भएपछि गरेको मिलेन भने पद छोड्न पनि सक्नुप¥यो । त्यस्तो खालको प्रवृत्ति हामीमा विकास हुनै सकेन ।

सुधारको अपरिहार्यता

दोस्रो चरणको सुधार अब ढिलो भइसक्यो । यो भनेको, हाम्रो औद्योगिक कोरिडोर वा हब कहाँ हो ? तिनीहरूलाई दिनुपर्ने सुविधा र पूर्वाधार विकास के हो ? यदि, हामीले औद्योगिक हब बनायौं भने त्यहाँ वातावरणका कुरा, १३ वटा सरकारी निकायमा पुग्नुपर्ने कुराको निकास के हुने हो ? ती १३ वटाको सट्टा त्यहीँ एकै ठाउँबाट सेवा प्रदान हुने किन बनाउन नसक्ने ?

एफडिआईका लागि एक दर्जनभन्दा बढी ठाउँमा त जानैपर्छ । ५ करोड रुपैयाँसम्मको लगानीका लागि उद्योग विभाग, केही भूमिका औद्योगिक प्रवद्र्धन बोर्डको छ । फेरि, लगानी बोर्डमा त जानैपर्‍यो । प्रदेशहरूले पनि आफ्नो भूमिका खोजिरहेका छन् ।

यदि प्रदेशसँग जोडिएन भने विदेशी लगानीकर्ताले दुःख पाउँछन् । यस खालको संयन्त्रको त विकास भएकै छैन । स्वीकृति लिनुपर्ने निकायहरू धेरै भए । यसो हुँदा लगानीकर्ताहरू अल्मलिएका छन् ।

राजनीतिज्ञको विकल्प त हामीले दिन सक्दैनौं । यद्यपि, विज्ञ, परामर्श वा अर्थविद् वा अनुभवी पक्षको विचार सुन्ने परिपाटीको विकास हुनुपर्छ । अहिले एफडिआईको कुरा गरियो भने चीन र भियतनामको उदाहरण दिइन्छ । त्यो हो पनि । हामी भन्दा भारत पनि धेरै माथि गइसक्यो । यसैले राम्रो देशहरूका उदाहरण ल्याएर काम गर्नुपर्छ ।

अर्को कुरा, लेबर (मजदुर) हो । हामीले धेरै वर्ष लगाएर मजदुरसम्बन्धी ऐन नियम परिवर्तन गर्‍यो । तर मजदुरले दुःख दिइरहने परिपाटी कम हुन सकेन । तिनीहरू टेड युनियनबाट संरक्षित भइरहे । मजदुरकै कारण धेरै कम्पनी बन्द भए ।

अर्को महत्वपूर्ण कुरा, हामीले सीप विकास गर्न सकेनौं । तराईका अधिकांश उद्योगमा ६० प्रतिशत मजदुर त भारतबाट ल्याउनुपरेको छ । यता हामीले प्राथमिकता दिन नसकेको एउटा मुख्य कारण विप्रेषण (रेमिट्यान्स) मा निर्भर हुनु हो । यसैले दोस्रो चरणको सुधारका लागि अलि बढी ध्यान दिन जरुरी छ ।

सुधारका उपकरणहरू

दोस्रो चरणको आर्थिक सुधारमा गइरहँदा मुख्यतः कृषि, पर्यटन र ऊर्जालाई छोड्नुहुँदैन । कृषिमा वर्षैभरि सिँचाइ हुने खेतीयोग्य भूमिलाई ५० प्रतिशत पु¥याउनुपर्यो । पाँच वर्षमा पु¥याउन नसकिने होइन ।

दोस्रो, नयाँ बीऊ विजन । यसलाई ४० देखि ५० प्रतिशतसम्म पु¥याउनुप¥यो । तेस्रो प्रमाणीकरण । कृषि उपज अर्थात् तरकारीजन्य उत्पादनलाई प्रमाणीकरण गर्ने ल्याब चाहियो । यी काम गर्न सकियो भने कृषिमा अगाडि जान सकिन्छ ।

पहाडमा धेरै जमिनहरू बाँझै हुन थालेका छन् । उब्जाउयुक्त जमिन कम हुँदैछ । यद्यपि, सिँचाइ सुविधा र बीऊ विजन राम्रो भयो भने भएकै जमिनबाट तीन देखि चार गुणा उत्पादन बढाउन सकिन्छ ।

बाँझो जमिन उपयोग गर्न ‘कन्ट्र्याक्ट फार्मिङ’लाई सजिलो बनाउनुपर्छ । यसपालीको बजेटमा भनिएको छ, तर त्यो कहिल्यै लागू भएको छैन ।

पर्यटनमा धेरै गर्न पर्दैन । पूर्वाधार निर्माण र यसको प्रचार–प्रसार नै हो । रारा एउटा बलियो उदाहरण हो । त्यहाँ, चार लेनको राजमार्ग हुने हो भने, हुन त पहाडी क्षेत्रमा गाह्रो छ । दुई लेनको मात्रै भए पनि बन्यो भने रारामा वर्षमा लाखौ मान्छे लैजान सकिन्छ ।

कम्बोडियाको एंकरवाट एउटा फ्रेन्च कम्पनीले व्यवस्थापन गरेको छ । हामीले यसरी नै व्यवस्थापन गरेर यस्तै पर्यटकीयस्थल बनाउन सक्छौं । रारा राष्ट्रिय निकुञ्जभित्र पर्छ तर त्यो भन्दा बाहिर व्यावसायिक बनाउन सकिन्छ ।

फेरि पनि मुख्य विषय पूर्वाधार नै हो । हामीसँग चित्त सानो छ । जेमा पनि ‘पैसा छैन वा बजेट पुगेन’ भन्छौं । अहिले लुम्बिनीमा वर्षको १५ लाख मान्छे आउँछन् तर अधिकांशले एक रात पनि विताउँदैनन् । त्यहाँ, २–३ दिन बस्ने वातावरण बनाउन सकिन्छ । हामीले पशुपतिनाथ, मुक्तिनाथ जस्ता धार्मिक महत्वका क्षेत्रमा आकर्षण बढाउन सक्ने हो भने लाखौं पर्यटक ल्याउन सकिन्छ ।

पूर्वाधारभित्र अर्को कुरा, ऊर्जालाई सस्तो बनाउनुपर्यो । भारतसँग प्रतिस्पर्धी हुनुपर्छ । धमाधम अनुमतिपत्र दिइरहँदा कम मूल्यमा विद्युत उत्पादन गर्ने कम्पनी वा त्यस्तो अध्ययन भएको आयोजना छनोट गरेर दिँदा राम्रो हुन्छ कि ! पहिला पनि यो अभ्यास थियो । जलविद्युत विकासमा अनुदान नै दिनुपर्छ भन्ने लाग्दैन ।

बाटो र प्रसारण लाइन बनाइदिनुपर्यो । उपकरण आयातमा भन्सार छुट दिने तथा जग्गा अधिग्रहणमा पनि सहुलियत गरिदिन सकिन्छ। यसो गरेर हाम्रो बिजुली सस्तो बनाउन सकियो भने देशभित्र र बाहिर खपतयोग्य हुन्छ । प्रतिस्पर्धी बजारमा जान सक्छ ।

विद्युत व्यापार भारत र बंगलादेशमा गर्नैपर्छ तर एउटामात्र खरिदकर्ता वा बिक्रीकर्ता भएर हुँदैन । यो जहिले पनि जोखिमपूर्ण हुन्छ । यसैले, बिक्रीकर्ता दुई वटा हुँदा राम्रो हुन्छ । विद्युत व्यापारको सन्दर्भमा भारतसँग सरकारी तहमै वार्ता गरेर जानुपर्छ । सानातिना विषय भए भने त्यो कर्मचारीतन्त्र वा कुटनीतिक तहबाट समाधान होलान् । भोलि बंगलादेशसँग व्यापार गर्ने वा भारतीय बजारमा खुला रूपमा प्रवेश पाउने विषयमा सरकारी तहबाटै जानुपर्छ ।

समय हेरेर मन्त्रीस्तरीय वा प्रधानमन्त्रीस्तरीय वार्ता हुनैपर्छ । भारतले पनि कोप–२६ मा प्रतिबद्धता गरेको छ, कार्बन उत्सर्जन घटाउने भनेर । भारतमा अझै ६० प्रतिशत बिजुली कोइलाबाट उत्पादन भइरहेको छ ।

यसलाई घटाउन नेपालको जलविद्युत प्रयोग गर्दै कार्बन उत्सर्जन गर्न र आफ्नो माग पूरा गर्न भारत हामीसँग जोडिनु नै पर्छ । यद्यपि हामी एउटै मात्र विकल्प हेरेर बस्न हुँदैन । यसैलै आन्तरिक बजारमा हामीले व्यापकरूपमा खपत बढाउनुपर्छ । त्यो बढाउन पर्यटन, सिमेन्ट वा छड उद्योग र पर्यटनसम्बन्धी उद्योगमा जानुपर्छ । विद्युत सस्तो बनाउनुपर्छ ।

अबको बाटो

पानी र उन्नत बीऊ विजनको उपलब्धता तथा प्रमाणीकरणको व्यवस्था भएमा कृषिमा क्रान्ति ल्याउन सक्छौं । अनि, विशेष आर्थिक क्षेत्रमा हामीलाई चाहिने उद्योग ल्याएर औद्योगिक क्षेत्रलाई बुस्ट गर्नुपर्यो ।

अहिले हामीकहाँ भएको बिजुली, पर्यटन र सूचना प्रविधि हो । यी तीनवटै क्षेत्रको सम्भावना प्रचुर छ । बिजुली निर्यात र आन्तरिक खपतका दृष्टिले पनि महत्वपूर्ण हुने भइहाल्यो । यसको रणनीति अहिले बन्न सकेन भने प्रवद्र्धकले उत्पादन गर्ने र खपत बढाउन नसक्ने हो भने विद्युत प्राधिकरण टाट पल्टिने हुन्छ ।

यसैले, खपत बढाउन जानुपर्छ । पर्यटनमा हरेक प्रदेशमा एक–एक वटा त्यस्ता आकर्षक क्षेत्र बनाउन सकिन्छ । यसमा वैदेशिक लगानी र इन्जिनियरहरू पनि सहयोग लिनुपर्छ । अब, सूचना प्रविधिमा त नेपाल धेरै माथि गइसकेको छ । तर निजी स्तरबाट भइरहेको छ । त्यो सरकारी तथ्यांकमा कम छ ।

अब ल्याउनुपर्छ । र केही हदसम्म नियमन गरेर व्यवस्थापन पनि गर्न सक्छौं । यसो गर्यो भने आउने २-३ वर्ष दोहोरो अंकको आर्थिक वृद्धि असम्भव छैन । यसलाई राजनीति तहदेखि नीति निर्मातासम्मले अवलम्बन गर्नुपर्छ ।

– नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिक प्रकाशन ‘अर्थनीति’ बाट लिइएको । (लेखक राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष हुन्)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.