एक साँझ,
एक झोक्का हावा
दौडिँदै आएर
कानमा फुस्फुसायो ।
झल्याँस्स हुँदै
शब्दहरू खोज्न थालेँ—
शब्दहरू
भूमिगत भइसकेका रहेछन् ।
एकछिन घोत्लिएँ
र हेरेँ,
हस्पिटलको शैयामा
छुट्दै गएको प्रेमको
चिसो स्पर्श,
दूध चुस्दै गरेको नानीको
अर्धखुल्ला ओठ,
अँगालोमा बाँधिएकी आमाको
उन्मत्त, बैशालु माया ।
देखेँ,
बाका पैँताला
र थाकेका काँधहरू—
प्रेमका गल्लीहरूमा
भौतारिँदै गरेका प्रेमीहरू ।
दोधारमा छु—
के लेखूँ ?
माथिल्लो भीरमा
उहिल्यै हजुरबाले छोडेका
दुई पाइला डोब,
बन्धुत्वका
अदालत धाएका कथाहरू ?
कि कोरिदिऊँ
पसिना पिउँदै
कुदिरहेका भोका पेटहरू ?
एक पेट अपमान,
एक घुट्की घृणा ?
वा
एक चिम्टी आँसुको नुनले
लेखिएको
यो अपसगुन समयको दस्तावेज ?
कि लेखूँ—
डरको छायाँमा
लुकेको क्षण,
वा
आँखा चिम्लेर
अन्यायको बाटो हिँडेको न्याय ?
बिस्तारै आफैँबाट
चिप्लिँदै गएको
यो थकित मन
शब्द नपाएर
मौन उभिएको छ ।
म—
निस्तब्ध कवि,
उसको छेउमा
अझै
शब्द खोजिरहेछु ।

Comment