के लेखूँ ? (कविता)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


एक साँझ,
एक झोक्का हावा
दौडिँदै आएर
कानमा फुस्फुसायो ।
झल्याँस्स हुँदै
शब्दहरू खोज्न थालेँ—
शब्दहरू
भूमिगत भइसकेका रहेछन् ।

एकछिन घोत्लिएँ
र हेरेँ,
हस्पिटलको शैयामा
छुट्दै गएको प्रेमको
चिसो स्पर्श,
दूध चुस्दै गरेको नानीको
अर्धखुल्ला ओठ,
अँगालोमा बाँधिएकी आमाको
उन्मत्त, बैशालु माया ।

देखेँ,
बाका पैँताला
र थाकेका काँधहरू—
प्रेमका गल्लीहरूमा
भौतारिँदै गरेका प्रेमीहरू ।

दोधारमा छु—
के लेखूँ ?
माथिल्लो भीरमा
उहिल्यै हजुरबाले छोडेका
दुई पाइला डोब,
बन्धुत्वका
अदालत धाएका कथाहरू ?

कि कोरिदिऊँ
पसिना पिउँदै
कुदिरहेका भोका पेटहरू ?
एक पेट अपमान,
एक घुट्की घृणा ?

वा
एक चिम्टी आँसुको नुनले
लेखिएको
यो अपसगुन समयको दस्तावेज ?

कि लेखूँ—
डरको छायाँमा
लुकेको क्षण,
वा
आँखा चिम्लेर
अन्यायको बाटो हिँडेको न्याय ?

बिस्तारै आफैँबाट
चिप्लिँदै गएको
यो थकित मन
शब्द नपाएर
मौन उभिएको छ ।

म—
निस्तब्ध कवि,
उसको छेउमा
अझै
शब्द खोजिरहेछु ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।