add

निष्क्रिय कर्जा घटाउन विकास बैंकलाई चुनौति, नाफामा भने बढ्दो






ActPro Nepal

|

८ वैशाख, २०८२

|
69

काठमाडौं । पछिल्लो समय अर्थतन्त्रको सुस्त गतिका कारण विकास बैंकहरू कर्जा असुलीमा ठूलो चुनौती सामना गरिरहेका छन्। समयमै कर्जा असुली हुन नसक्दा निष्क्रिय कर्जा (एनपीएल) निरन्तर वृद्धि भई बैंकहरूको वित्तीय स्वास्थ्यमा दवाव परेको देखिन्छ।

विकास बैंकहरू मात्र होइन, वाणिज्य बैंकहरू समेत कर्जा असुलीमा कठिनाइ भोगिरहेका छन्। कर्जा असुलीमा सम्पूर्ण ध्यान लगाउँदा पनि उल्लेख्य सुधार नआएको विकास बैंकहरूका तेस्रो त्रैमासिक वित्तीय विवरणहरूले देखाएका छन्।

यसरी निष्क्रिय कर्जा बढिरहँदा पनि विकास बैंकहरूको नाफा भने सुधारोन्मुख देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफा ४.३४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५३ करोड ८८ लाख ५० हजार रुपैयाँ नाफा कमाएका बैंकहरूले चालु आवको चैत मसान्तसम्म ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्।

हाल संचालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमध्ये ५ वटाले नाफा बढाएका छन् भने ३ वटाको नाफा घटेको छ। गरिमा, कामना सेवा, महालक्ष्मी, सांग्रिला र ज्योति विकास बैंकको नाफामा वृद्धि भएको छ। मुक्तिनाथ, शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंकको भने नाफा घटेको छ।

नाफाको हिसाबले गरिमा विकास बैंक अग्रस्थानमा रहेको छ। बैंकले ७३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.१३ प्रतिशतले बढी हो।

त्यस्तै मुक्तिनाथ विकास बैंकले ७२ करोड ४८ लाख नाफा कमाएको छ, यद्यपि यो अघिल्लो वर्षको तुलनामा १६.८५ प्रतिशतले घटेको छ।

कामना सेवा विकास बैंकले ४९ करोड ३१ लाख रुपैयाँ नाफा कमाउँदै अघिल्लो वर्षको तुलनामा ४८.८३ प्रतिशतको उल्लेख्य वृद्धि गरेको छ।

महालक्ष्मी विकास बैंकले १६.८६ प्रतिशत नाफा वृद्धि गर्दै ४३ करोड ६५ लाख आर्जन गरेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले ६१.१८ प्रतिशत नाफा वृद्धि गर्दै ४३ करोड ४२ लाख कमाएको छ।

खुद ब्याज आम्दानीको सन्दर्भमा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि छ। बैंकले ३ अर्ब २८ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

यसैबीच, निष्क्रिय कर्जाको अवस्था भने चिन्ताजनक छ। तेस्रो त्रैमाससम्म विकास बैंकहरूको औसत निष्क्रिय कर्जा ५.०४ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३.५८ प्रतिशत थियो।

लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै ७.१८ प्रतिशत पुगेको छ। अन्य बैंकहरूमा पनि एनपीएल उल्लेख्य वृद्धि भएको छ।

विकास बैंकहरूले निष्क्रिय कर्जा घटाउने प्रयास जारी राखेपनि हालको आर्थिक परिस्थितिले अझै थप चुनौती थप्ने संकेत देखिएको छ। निष्क्रिय कर्जा उच्च हुँदा बैंकहरूले व्यापार विस्तारमा समेत सतर्कता अपनाउन बाध्य भएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.