काठमाडौं । चालु आर्थिक वर्षमा अर्थतन्त्र सुस्ताए पनि तीन प्रकृतिका कर्जाको माग उच्च देखिएको छ। विशेष गरी व्यापार (ट्रष्ट रिसिप्ट), सेयर (मार्जिन) र चालु पूँजी कर्जा लगानी उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार यी कर्जाको वृद्धिदर वार्षिक लक्ष्यभन्दा धेरै छ। चालु आर्थिक वर्ष २०८१/८२ मा निजी क्षेत्रतर्फ १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य थियो, तर सात महिनामा बैंक तथा वित्तीय संस्थाले मात्र ५.३ प्रतिशत कर्जा प्रवाह गरेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवमा व्यापारिक प्रयोजनका लागि प्रवाह हुने ट्रष्ट रिसिप्ट कर्जा लगानी उच्च दरमा वृद्धि भएको छ। गत असारसम्म ८२ अर्ब ८३ करोड रहेको यो कर्जा माघ मसान्तसम्म आइपुग्दा १ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ, जुन ६९.५ प्रतिशतको वृद्धिदर हो। त्यस्तै, सेयर कर्जा पनि २७.८ प्रतिशतले वृद्धि भई १ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूले मात्र सात महिनामा २५ अर्ब रुपैयाँभन्दा बढी सेयर कर्जा प्रवाह गरेका छन्।
औद्योगिक क्षेत्रमा पनि कर्जाको माग बढेको देखिन्छ। वर्किङ क्यापिटल लोन (चालु पूँजी कर्जा) १२.४ प्रतिशतले वृद्धि भई कुल ८९ अर्ब ९२ करोड पुगेको छ। निर्माण सिजन सुरु भएसँगै उद्योगहरूले कच्चा पदार्थ आयात बढाउँदा यस्तो कर्जाको माग बढेको विश्लेषण गरिएको छ। त्यस्तै, हायर पर्चेज, ट्रम लोन, व्यक्तिगत आवास कर्जा, क्यास क्रेडिट र रियल ईस्टेट कर्जा पनि ३ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।
तर, सबै क्षेत्रमा कर्जाको माग बढेको छैन। ओभर ड्राफ्ट कर्जा र विपन्न वर्गलाई दिइने कर्जाको वृद्धिदर ऋणात्मक रहेको छ। ओभर ड्राफ्ट कर्जा १२.४ प्रतिशतले घटेर १ खर्ब ९ अर्ब रुपैयाँमा झरेको छ भने, विपन्न वर्ग कर्जा ७.३ प्रतिशतले घटेर २ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ। सरकारले कर्जाको प्रवाह बढाउन नीतिगत लचकता अपनाए पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न सकेको छैन। बैंकिङ प्रणालीमा अझै ६ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।