बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गरेका छन्।
अजरबैजानको बाकु सहरमा यही सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्षराष्ट्रहरुको सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आज यहाँ आयोजना गरेको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ शीर्षकको उच्चस्तरीय ‘राउण्ड टेबल’ बैठकलाई सम्बोधन गर्दै उनले सो आह्वान गरेका हुन्।
“पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्नसक्ने र सामुद्रिक किनार माथि उठ्नसक्ने भएकाले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले मुख्यगरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र तीव्र दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रका लागि बढी सहयोग गर्नुपर्ने जनाए। “बढीभन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९औं जलवायु सम्मेलन सफल हुने मेरो विश्वास छ”, उनले भने।
जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यसको सामाना गर्न हामी सबैको साझा बुझाइ तथा साझा प्रयास बनाउनुपर्ने भएकाले यस कार्यक्रमको आयोजना गरिएको राष्ट्रपति पौडेलको भनाइ थियो।
“जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याका बारेमा बुझ्न र समाधान गर्न पनि सहज हुने हाम्रो विश्वास हो”, उनले भने।
सबैलाई आ–आफ्नो समस्या ठूलो लाग्नु स्वाभाविकै हो, तर पछिल्ला दिनमा नेपालले भोगेका जलवायु समस्याको चुनौती निकै हृदयविदारक रहेको राष्ट्रपति पौडेलले बताए। “तीन महिनाअघि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामे गाउँलाई बगाएर लग्यो, जबकी त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य नै थियो”, उनले भने।
त्यस्तै, विगत तीन महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र पाँच सयभन्दा बढी मानिसले ज्यान गुमाउन पुगेका र खर्बभन्दा बढीको हानि नोक्सानी भएको राष्ट्रपति पौडेलले जानकारी दिए। यस प्रकारको हानि नोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुबान तथा गत जुलाईमा क्यारिवियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुने उनको धारणा थियो।
“भोलिका दिनमा यो मानवीय सङ्कट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो”, राष्ट्रपति पौडेलले भने।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।