काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकको खुद नाफामा उछाल आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ३२२.९८ प्रतिशतले बढेकोे हो ।
बैंकले चालु आवकोअसोज मसान्तसम्म ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४६ करोड रुपैयाँ धेरै हो । बैंकले गत वर्ष असोजसम्म १४ करोड २३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४३ प्रतिशतले घटेर २ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा भने ५६४.६१ प्रतिशतले बढेर ६९ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले २ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप १.१२ प्रतिशत र कर्जा लगानी २.७९ प्रतिशतले बढेको हो ।
हाल १४ अर्ब ६९ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा १ अर्ब २६ लाख रुपैयाँ संचित छ । यस अवधिमा बैंकको जगेडा कोषमा २३ अर्ब २० करोड संचित छ । असोजसम्म बैंकको वितरणयोग्य नाफा ९४ करोड ७९ लाख रुपैयाँ छ । यसबाट प्रतिसेयर २५.८० रुपैयाँ लाभांश दिन पुग्छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि झण्डै ४ गुणाले बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३.८८ रुपैयाँबाट बढेर १६.३९ रुपैयाँ पुगेको छ ।
असोजसम्म बैंकको प्रतिसेयर नेटवर्थ २६४.७१ रुपैयाँ, बेसरेट ६.७२ प्रतिशत, सीडी रेसियो ७५.३९ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा भने थोरै बढेको छ । गत वर्ष असोजमा ३.८४ प्रतिशत रहेको बैंकको खराब कर्जा यस वर्ष बढेर ३.९५ प्रतिशत पुगेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।