एआईको सहायताले कर्मकाण्ड सहज बनाउँदै वैदिक अनुसन्धान गुठी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने नित्य, नैमित्तिक तथा काम्य कर्मका विधिलाई प्रविधिमार्फत सहज बनाउन वैदिक अनुसन्धान गुठी (वाग्) ले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मोबाइल एप सार्वजनिक गरेको छ।

धर्म, संस्कृति र वैदिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको उक्त एपमार्फत विभिन्न कर्मकाण्डका विधि, पूजा सामग्री, सङ्कल्प, मुहूर्त, पञ्चाङ्ग, ज्योतिष तथा धर्मशास्त्रसम्बन्धी जानकारी मोबाइलबाटै प्राप्त गर्न सकिने गुठीले जनाएको छ।

वाग्का अध्यक्ष युवा सन्त डा. स्वामी केशवानन्द गिरिको नेतृत्वमा करिब ४० जनाको टोलीले दुई वर्षसम्म गरेको अध्ययन, अनुसन्धान तथा प्राविधिक तयारीपछि एप तयार गरिएको हो। दाताहरूबाट प्राप्त करिब ७० लाख रुपैयाँको सहयोगमा परियोजना सम्पन्न भएको गुठीले जनाएको छ।

स्वामी केशवानन्द गिरिका अनुसार विश्वमै पहिलोपटक कर्मकाण्ड, धर्मशास्त्र र ज्योतिषसम्बन्धी सामग्रीलाई एआई प्रविधिसँग जोडेर यस्तो सेवा मोबाइल एपमार्फत उपलब्ध गराइएको हो। उनका अनुसार एपमा राखिएका सामग्री शुक्ल यजुर्वेदको माध्यन्दिनीय शाखा, धर्मसिन्धु, निर्णयसिन्धु, याज्ञवल्क्य स्मृतिलगायत शास्त्रीय ग्रन्थमा आधारित छन्।

वास्तविक समय र स्थानका आधारमा एआईबाट सङ्कल्प

एपको प्रमुख विशेषतामध्ये वास्तविक समय र स्थानका आधारमा स्वचालित रूपमा सङ्कल्प तयार हुनु रहेको गुठीले जनाएको छ।

प्रयोगकर्ताले आफ्नो वास्तविक समय र स्थान प्रविष्ट गरेपछि सोही आधारमा आवश्यक विवरणसहितको सङ्कल्प एआईले तयार गर्नेछ। गुरु–पुरोहितले त्यसलाई वाचन गरेर कर्म गराउन सक्नेछन्।

नेपालका करिब सात हजार नदी तथा नालाका नाम एपमा समावेश गरिएको स्वामी केशवानन्द गिरिले बताए। नेपालका तीर्थस्थलहरूको विवरण पनि समावेश गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। विश्वका प्रमुख नदीहरूलाई समेत एपमा समेटिएको र अन्य नदी–नालाको विवरण थप्ने काम भइरहेको छ।

यसका कारण विदेशमा रहेका नेपाली तथा अन्य वैदिक सनातन धर्मावलम्बीले आफू बसेकै स्थानबाट आवश्यक विवरणसहितको सङ्कल्प तयार गर्न सक्ने गुठीको विश्वास छ।

चार भाषामा कर्मकाण्ड विधि

एपमा वेदका मूल मन्त्र संस्कृतमै राखिएका छन् भने कर्मकाण्डका विधि नेपाली, संस्कृत, हिन्दी र अंग्रेजी भाषामा उपलब्ध गराइएको छ।

कुन कर्मका लागि कति र कस्ता पूजा सामग्री आवश्यक पर्छन्, यजमानले के–के गर्नुपर्छ, कुन कर्ममा के आवश्यक हुन्छ र के निषेध गरिएको छ भन्ने जानकारीसमेत एपमा राखिएको छ।

कर्म गराउने ब्राह्मण तथा गुरु–पुरोहित र कर्म गर्ने यजमानका कर्तव्य पनि एपमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। आवश्यक पूजा सामग्रीको मात्रासहितको विवरणसमेत उपलब्ध हुने गुठीले जनाएको छ।

यसले गुरु–पुरोहित र यजमान दुवैलाई एउटै स्रोतबाट आवश्यक जानकारी प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पञ्चाङ्गदेखि मुहूर्तसम्म

एपमा चान्द्रमासअनुसारका तिथि तथा पञ्चाङ्ग समावेश गरिएको छ। सूर्यसिद्धान्त र दृग्गणित दुवै आधारमा गणना गरिएको पञ्चाङ्ग राखिएको गुठीले जनाएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोमा उल्लेख भएका मुहूर्त तथा साइतसमेत एपमा समावेश गरिएको छ। मुहूर्तहरू पछिसम्म हेर्न सकिने व्यवस्था गरिएको छ।

प्रयोगकर्ताले दैनिक, मासिक तथा वार्षिक राशिफल पनि हेर्न सक्नेछन्। गोत्र तथा प्रवरको सूची, कम्पास तथा विभिन्न तिथि–मिति रूपान्तरण गर्ने सुविधा पनि एपमा उपलब्ध छ।

अफलाइनबाट पनि प्रयोग गर्न सकिने

एप मोबाइलमा डाउनलोड गरेर अफलाइन अवस्थामा समेत कर्मकाण्ड गराउन सकिने गुठीले जनाएको छ। यद्यपि अफलाइन अवस्थामा वास्तविक समय र स्थानका आधारमा तयार हुने सङ्कल्पको सुविधा भने उपलब्ध नहुने जनाइएको छ।

एपमा कुण्डली निर्माणका लागि वाग्को सफ्टवेयरसमेत समावेश गरिएको छ। ज्योतिषसम्बन्धी एआईमा आधारित फलादेशको सुविधा पनि उपलब्ध गराइएको गुठीको भनाइ छ।

विवाह र व्रतबन्धका विधिसमेत थपिँदै

हाल उपलब्ध सामग्रीलाई विस्तार गर्दै विवाह, व्रतबन्धलगायत संस्कारका विधि पनि एपमा समावेश गर्ने तयारी भइरहेको छ। विभिन्न देवी–देवताका स्तोत्रसमेत एपमा राख्ने काम भइरहेको गुठीले जनाएको छ।

अहिले एप निःशुल्क डाउनलोड गरी प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। गुठीका अनुसार यसको मुख्य उद्देश्य आर्थिक लाभभन्दा धर्म, संस्कृति र वैदिक ज्ञानको संरक्षण तथा सहज पहुँच सुनिश्चित गर्नु हो।

शास्त्रीय ग्रन्थको अनुवाद पनि एपमा

रामायण, महाभारतलगायत पूर्वीय दर्शनका प्रमुख ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरी एपमा समावेश गर्ने कामसमेत भइरहेको छ।

स्वामी केशवानन्द गिरिले तयार पारेको नेपाली, संस्कृत, अंग्रेजी र हिन्दी भाषाको शब्दकोशसमेत एपमा राख्ने तयारी छ। उक्त शब्दकोश करिब एक दशकअघि मोबाइल तथा कम्प्युटरमा प्रयोग गर्न सकिने गरी तयार पारिएको उनले बताए।

नेपालभरका धार्मिक तीर्थस्थल, गुरुकुल तथा गौशालाको विवरणसमेत एपमा समावेश गर्ने योजना छ। गुठीले आगामी एक वर्षभित्र यस्ता सामग्रीलाई एपमा समेट्ने लक्ष्य राखेको जनाएको छ।

दक्षिणा गुरुकुल र गौशालामा पठाउन सकिने

एपमा गुरु–पुरोहितले प्राप्त गर्ने दक्षिणाको केही हिस्सा गौशाला, गुरुकुल वा तीर्थस्थलमा सहयोग गर्न सकिने व्यवस्था पनि विकास गरिएको छ।

कर्म गराएको स्थानको नजिक रहेको गौशाला वा गुरुकुलको विवरण हेरेर अनलाइनमार्फत सहयोग गर्न सकिने व्यवस्था मिलाइएको गुठीले जनाएको छ। गुरु–पुरोहितले चाहेमा सम्बन्धित कर्मबाट प्राप्त दक्षिणाको १० प्रतिशतसम्म रकम गौशाला, गुरुकुल वा नजिकको तीर्थस्थललाई सहयोग गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

यसबाट वैदिक शिक्षा, गुरुकुल तथा गौशालाको संरक्षणमा सहयोग पुग्ने गुठीको विश्वास छ।

पुरोहितको योग्यता परीक्षण गरी सूची राख्ने योजना

गुठीले देशभरका कर्मकाण्ड गराउने गुरु–पुरोहितलाई नयाँ प्रविधिबारे प्रशिक्षण दिने योजना बनाएको छ।

कर्मकाण्ड गराउन सक्ने गुरु–पुरोहितको परीक्षा लिएर उनीहरूको योग्यता तथा दक्षताअनुसारको सूची एपमै उपलब्ध गराउने योजना रहेको स्वामी केशवानन्द गिरिले बताए।

यस्तो परीक्षा अनलाइन माध्यमबाटै सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए। यसका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग समेत सहकार्य गर्न सकिने उनको भनाइ छ।

यसले यजमानलाई आफ्नो आवश्यकता र स्थानअनुसार योग्य गुरु–पुरोहित छनोट गर्न सहज हुने अपेक्षा गरिएको छ।

वैदिक ज्ञानको संरक्षण र पुस्तान्तरणमा जोड

वैदिक सनातन धर्म तथा संस्कृत शिक्षाको अध्ययन, अनुसन्धान, संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले वैदिक अनुसन्धान गुठी स्थापना गरिएको हो।

गुठीले यसअघि शुक्लयजुर्वेद संहिता, अनुवाद चन्द्रिकाका चार भाग, रुद्राष्टाध्यायी, संस्कार शिक्षाका तीन भाग, दशशान्तिमन्त्र, छन्दःशिक्षा, श्रीमद्वाल्मीकि रामायणका दुई खण्ड, वैदिक पञ्चाङ्ग तथा वाग् नेपाली–संस्कृत शब्दकोशलगायत सामग्री प्रकाशन गरिसकेको जनाएको छ।

एप निर्माणमा सहयोग गरेका नेपाली मूलका भुटानी सुवेदी हाल अमेरिकाबाट वाग्को गौरीघाटस्थित आश्रममा आएर वैदिक वाङ्मयको अध्ययनमा संलग्न रहेको गुठीले जनाएको छ।

एपले वैदिक ज्ञानलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने स्वामी केशवानन्द गिरिको विश्वास छ। मोबाइल, ट्याब्लेट र ल्यापटपजस्ता आधुनिक उपकरण प्रयोग गर्ने नयाँ पुस्तालाई वैदिक ज्ञान र संस्कृतितर्फ आकर्षित गर्न पनि यसले भूमिका खेल्ने उनको भनाइ छ।

अडियो, भिडियो तथा पोडकास्टमार्फत वैदिक वाङ्मयबारे जानकारी दिने योजना पनि रहेको गुठीले जनाएको छ।

विदेशमा रहेका नेपालीका लागि उपयोगी हुने अपेक्षा

अमेरिकामा समेत कर्मकाण्ड गराउँदै आएका सुवेदीका अनुसार एक पुस्ताबाट अर्को पुस्तामा पुग्दा कर्मकाण्ड गराउने गुरु–पुरोहितको संख्या उल्लेख्य रूपमा घटेको छ।

अमेरिकाको भर्जिनिया, न्यूयोर्क र क्यालिफोर्नियालगायत क्षेत्रमा नेपाली तथा हिन्दू धर्मावलम्बीको उल्लेख्य उपस्थिति रहेकाले त्यस्ता स्थानमा एप उपयोगी हुने उनको विश्वास छ।

नेपालमा विगत दुई दशकदेखि गुरु–पुरोहितका रूपमा काम गर्दै आएका कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीका ४३ वर्षीय विदुर सापकोटाले पनि एपले कर्मकाण्ड गराउन सहज बनाउने बताए।

उनका अनुसार ठूलो आकारका पुस्तक बोकेर हिँड्नुपर्ने बाध्यता हट्नुका साथै सङ्कल्प तथा कर्मकाण्डका वाक्य एउटै प्रणालीबाट उपलब्ध हुने भएकाले काममा सहजता आउनेछ।

प्रविधिसँगै शास्त्रीय परम्परा जोगाउने चुनौती

एपले कर्मकाण्डलाई सहज र एकरूप बनाउन सहयोग गरे पनि पुस्तकको प्रत्यक्ष प्रयोगबाट प्राप्त हुने आस्था, अध्ययन तथा अभ्यासमा कमी आउन सक्ने सम्भावनालाई गुठीले पनि स्वीकार गरेको छ।

मोबाइलमा उपलब्ध सामग्रीका कारण कर्मकाण्डका ठूला–ठूला पुस्तक बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने भए पनि प्रविधिको प्रयोगसँगै शास्त्रीय अध्ययन र गुरु–शिष्य परम्परालाई पनि निरन्तरता दिनुपर्ने आवश्यकता रहेको स्वामी केशवानन्द गिरि बताउँछन्।

उनका अनुसार यो एप प्रारम्भिक संस्करण भएकाले प्रयोगकर्ताको सुझाव र आवश्यकताअनुसार क्रमशः सुधार तथा विस्तार गरिँदै जानेछ।

वैदिक कर्मकाण्डलाई प्रविधिसँग जोडेर तयार गरिएको यस परियोजनाले नेपालबाट वैदिक ज्ञानको संरक्षण, प्रवद्र्धन र विश्वव्यापी पहुँच विस्तारमा नयाँ सम्भावना सिर्जना गर्ने गुठीको अपेक्षा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।