काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चकअन्तर्गत आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाइँदैछ। तिथि घटबढका कारण यस वर्ष यी दुवै पर्व एउटै दिन परेको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आइतबार बिहान कुकुरको पूजा गरी साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरिनेछ। आइतबार दिउँसो चतुर्दशी तिथि र साँझ औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा दुवै पर्व एकैदिन मनाउने निर्णय गरिएको हो।
यमपञ्चकको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई यमराजको दूतका रूपमा सम्मान गर्दै पूजा गर्ने परम्परा छ। कुकुरलाई टीका तथा माला लगाइदिएर मिठा परिकार खुवाउने गरिन्छ।
त्यस्तै, साँझ ऐश्वर्य, धनधान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीको आगमन हुने विश्वासका साथ बिहानैदेखि घरआँगन सफासुग्घर गर्ने, लिपपोत गर्ने तथा घरका झ्याल, ढोका, कोठा, सँघार, कौसी र भर्याङलगायत स्थानमा दीप प्रज्वलन गर्ने परम्परा छ।
लक्ष्मीपूजापछि साँझ युवतीहरू समूह बनाएर घरघरमा पुग्दै परम्परागत भैलो खेल्ने चलन छ। धार्मिक मान्यताअनुसार भगवान् विष्णुबाट यमपञ्चकका पाँच दिन तीनै लोकको शासन गर्ने वरदान पाएका राजा बलिको सम्झनामा भैलो खेल्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।
भैलो खेल्न आउनेलाई घरधनीले धान, चामल, फूलमाला, नगद तथा सेलरोटीलगायतका सामग्री दिने चलन छ। कात्तिक महिनामा गरिने दानलाई पुण्य प्राप्तिको अवसरका रूपमा लिने धार्मिक विश्वाससमेत रहेको छ।
यसरी कुकुरप्रतिको प्रेम र सम्मानसँगै धनधान्य तथा समृद्धिकी देवी लक्ष्मीको आराधना गर्दै आज देशभर तिहारको उल्लास मनाइँदैछ।




Comment