एजेन्सी । इटालियन फुटबल क्लब एएस रोमाले फेनेरबाचेविरुद्धको आफ्नो युईएफए च्याम्पियन्स लिग खेलका दौरान समर्थनको सन्देश बोकेको जर्सी लगाएर नेपालका बाढी प्रभावितहरूका लागि सचेतना फैलाउन र कोष संकलन गर्न मद्दत गर्ने अलजजीराले लेखेको छ ।
बिहीबार युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलका लागि इस्तानबुल यात्रा गर्ने रोमस्थित यस क्लबले टर्किएमा आफ्नो सट्टेबाजी कम्पनी प्रायोजक प्रदर्शन गर्न प्रतिबन्ध लगाइएपछि ‘टुगेदर फर नेपाल’ (नेपालका लागि सँगै) शब्द र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) को लोगो अंकित जर्सी लगाउनेछ ।
क्लबले यी विशेष जर्सीहरू लिलामी गरेर उक्त रकम रोमस्थित संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्यूएफपीलाई प्रदान गरी राहत प्रयासहरूका लागि कोष पनि संकलन गर्नेछ ।
भदौ १० को विनाशकारी बाढीपछि १३ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने ५ हजार मानिस अझै बेपत्ता छन् ।
वैज्ञानिकहरूका अनुसार, यो जलवायु परिवर्तनको प्रभावका कारण भएको हो र हिमाली हिमनदीको एक भाग भत्किएपछि पानी र लेदोको भीषण बहाव नेपालको रसुवा र नुवाकोट क्षेत्रका साथै चीनको तिब्बत क्षेत्रमा उर्लिएर बाढी निम्तिएको थियो ।
‘देशलाई प्रभावित पारिरहेको बाढी र पहिरोबाट नराम्ररी प्रभावित भएका नेपाली जनतालाई सहयोग गर्न एएस रोमा र डब्ल्यूएफपीले हातेमालो गरिरहेका छन्,’ इटालियन तथा युरोपेली फुटबलको दिग्गज क्लबहरूमध्येको एक रोमाले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनेको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘गियालोरोसी (रोमाका) खेलाडीहरूले आफ्नो जर्सीको अगाडिको भागमा विश्व खाद्य कार्यक्रमको लोगो लगाएर मैदानमा उत्रनेछन् । यस कार्यले यस आपतकालीन अवस्थातर्फ सबैको ध्यानाकर्षण गराउनेछ र प्रभावित समुदायको सहयोगमा डब्ल्यूएफपीले गरिरहेको कामको प्रचारप्रसार बढाउनेछ ।’
टर्किएमा खेलकुद टोलीको जर्सीमा खेल सट्टेबाजी वा जुवा कम्पनीहरूको लोगो र नाम प्रतिबन्धित गरिएका कारण रोमालाई आफ्नो जर्सी प्रायोजकको लोगो प्रदर्शन गर्न रोक लगाइएपछि यो कदम चालिएको हो ।
मंगलबार प्रतियोगिताको नयाँ सिजन सुरु भएसँगै च्याम्पियन्स लिगका सबै खेलहरूमा नेपालका बाढी पीडितहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । बुधबार आयोजित खेलहरूमा पनि सोही क्रम जारी रह्यो जहाँ खेलाडी, प्रशिक्षण टोली, पदाधिकारी र समर्थकहरूले सबै खेल सुरु हुनुअघि पीडितहरूप्रति सम्मान व्यक्त गरेका थिए ।
सबै रंगशालाका स्क्रिनहरूमा बाढी प्रभावितहरूको समर्थनमा सन्देशहरू प्रदर्शन गरिएका थिए ।
इंग्लिश प्रिमियर लिग क्लब आर्सनलले पनि नेपालमा उद्धार तथा राहत कार्य गरिरहेको आफ्नो परोपकारी साझेदार ‘सेभ द चिल्ड्रेन’ र ‘आर्सनल फाउन्डेसन’ मार्फत बाढी राहत प्रयासहरूमा योगदान पुर्याएको छ ।




Comment