काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार सम्पन्न डे-नाइट खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक प्रतिस्पर्धामा १८१ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनमा समेटियो ।
चितवनका लागि रवि बोपाराले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३५ बलमा २ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ५५ रन बनाए । ३४ बलमै अर्धशतक पूरा गरेका बोपारालाई १९.२ ओभरमा काठमाडौंका कप्तान करण केसीले क्याच आउट गराएपछि खेलले निर्णायक मोड लिएको थियो ।
ड्यान मौसलेले ३२ बलमा २९ रन बनाए । ओपनर कामिल मिशाराले ११ बलमा १ चौका र ३ छक्कासहित २८ रन जोड्दा अर्जुन साउदले २१ बलमा २३ रनको योगदान दिए ।
अन्य ब्याटरमा कुशल मल्लले १३, कप्तान सिकन्दर राजाले २ र विवेक यादवले ४ रन बनाए । कमल ऐरी ४ र रिजन ढकाल १ रनमा अविजित रहे ।
काठमाडौंका लागि सहन अराचिगेले २ विकेट लिए । गणेश गौतम, सन्तोष यादव, जहान्दाद खान र कप्तान करण केसीले समान १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
काठमाडौंका अलराउन्डर रसिद खानले आक्रामक ब्याटिङ गर्दै ३० बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रन बनाए । सहन अराचिगेले ३३ रन र विलियम बोसिस्टोले २७ रनको योगदान दिए । अन्त्यतिर कप्तान करण केसीले ७ बलमा ३ छक्कासहित अविजित २० रन जोड्दै टोलीको स्कोर उकासेका थिए ।
चितवनका लागि रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । कमल ऐरी र कप्तान सिकन्दर राजाले समान २–२ विकेट हात पारे ।
यससँगै काठमाडौं गोर्खाजले १० रनको रोमाञ्चक जित निकाल्दै एनपीएलमा महत्वपूर्ण सफलता हासिल गरेको छ ।




Comment