काठमाडौं । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज आइतबार आज एक खेल मात्रै हुँदै छ।
त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै छन्।
आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग हारेको जनकपुरले दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई जितेको छ।
उता पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हारेको थियो।
हालसम्मको अंकतालिकमा जनकपुर पाँचौँ र पोखरा अन्तिम स्थानमा छन्।
हरमित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सको टोलीमा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली र अनिलकुमार साह छन्। साथै ललितनारायण राजवंशी, रित गौतम र आशुतोष पाण्डे पनि छन्।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा शाकिब अल हसन, महेदी हसन, चमिका करुणारत्ने र धनञ्जय लक्षान छन्। साथै सागर ढकाल, अर्जुन घर्ती र अर्जुन कुमाल पनि यस टोलीमा छन्।
यसअघि शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराउँदै विजय सुरुवात गरेको छ।
वर्षाका कारण खेल पाँच ओभरमा झारिएको थियो। जसमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो। यसअघि विराटनगरले ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो।
लगातार वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएका कारण शनिबार हुने भनिएको चितवन राइनोज र लुम्बिनी लायन्सबिचको पहिलो खेल भने रद्द गरिएको थियो। खेल रद्द भएपछि दुई टोलीले एक-एक अंक बाडेका छन्।




Comment