काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो।
श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको जनाएको छ। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डट्कमका सञ्चालक एवं सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत रहेका छन्।
प्रहरीका अनुसार श्रेष्ठमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरकान्त चौधरी र एक युवतीबीच चुम्बन गरिरहेको भनिएको तस्बिर सार्वजनिक गरेको आरोप लागेको छ।
उक्त तस्बिरका विषयमा सम्बन्धित युवतीले आफ्नो व्यक्तिगत गोपनीयता हनन भएको भन्दै काठमाडौँ प्रहरीमा जाहेरी दिएकी थिइन्।
यसैबीच, ती युवतीले भिडियो सन्देशमार्फत सार्वजनिक भएको तस्बिर गलत तरिकाले जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको दाबी गरेकी छन्। उनले उक्त तस्बिरमा प्रस्तुत गरिएको दाबीमा कुनै सत्यता नभएको बताएकी छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





Comment