काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्त भएकै दिन नियुक्तिपत्र बुझेका छन्।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले कात्तिक १८ गते नै नियुक्तिपत्र बुझेका हुन्।
मुलुकको शान्ति सुरक्षाको अवस्था थप सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिनका लागि मन्त्रिपरिषद्को कात्तिक १८ गतेको बैठकले कार्कीलाई विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। यसका लागि प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदसमेत सिर्जना गरिएको थियो।
यद्यपि, तिहार र छठ पर्वसहित लामो सार्वजनिक बिदा परेका कारण कार्की हालसम्म कार्यालयमा हाजिर भएका छैनन्। उनको कार्यकक्ष सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको छ।
यसैबीच, पूर्वआईजीपी कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका कार्कीले नै आफ्नो पदमुक्तिसम्बन्धी सरकारी निर्णयलाई चुनौती दिएपछि यो विषय थप चासोको विषय बनेको छ।




Comment