काठमाडौं । निर्माता जनक घर्ती मगरले नयाँ चलचित्र ‘आकाश वर्षा’ निर्माणको घोषणा गरेका छन्। चलचित्रको शीर्षकसहितको आधिकारिक पोस्टर सार्वजनिक गर्दै उनले आफ्नो नयाँ परियोजनाबारे जानकारी दिएका हुन्।
हालै प्रदर्शनमा आएको चलचित्र ‘मितज्यू’ हलबाट उत्रिएको छोटो समयमै जनकले अर्को चलचित्र निर्माणको घोषणा गरेका हुन्। जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने यस चलचित्रलाई निर्देशक सुदीप भजु ले निर्देशन गर्नेछन्।
सार्वजनिक गरिएको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको दृश्य देखाइएको छ। पोस्टरमा बादल, वर्षा र पृष्ठभूमिमा पहाडको चित्रण गरिएको छ, जसले मानव जीवनका दुःख, सुख र संघर्षलाई संकेत गर्ने देखिन्छ। साथै सिमसिम वर्षाले जीवनका खुसीका क्षणहरूलाई पनि प्रतिनिधित्व गरेको अनुभूति दिलाउँछ।
निर्माता जनक घर्ती मगरका अनुसार चलचित्र विशुद्ध प्रेमकथामा आधारित हुनेछ। उनले भने, “हाम्रो यो चलचित्र विशुद्ध लभ स्टोरी जनरामा बन्नेछ।”
चलचित्रका कलाकार तथा अन्य प्राविधिक टिमबारे भने निर्माण पक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन। निर्माता जनक स्वयंको परिकल्पनामा बन्न लागेको चलचित्रको कथा तथा पटकथा अमीर मगर ले लेखेका छन्।
जनक घर्ती मगरले यसअघि ‘घरज्वाइँ’ र ‘मितज्यू’ चलचित्र निर्माण गरेका थिए। ‘घरज्वाइँ’ व्यावसायिक रूपमा सफल चलचित्रका रूपमा स्थापित भएको थियो भने ‘मितज्यू’ ले अपेक्षाअनुसार व्यापार गर्न सकेन।
यसैबीच, चलचित्र ‘आकाश वर्षा’ को देशव्यापी वितरण अधिकार रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्स ले लिएको निर्माण पक्षले जनाएको छ।

Comment