सुर्खेत । डा. दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तकमाथि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परिचर्चा गरिएको छ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पुस्तकले कर्णालीको सम्भावना पहिचान गरी विकासका काममा अघि बढ्न प्रेरणा दिएको बताए। लेखकद्वयले तथ्य र प्रमाणसहित १७ लाख कर्णालीवासीको भविष्य उजागर गर्न खोजेको उनको भनाइ थियो।
‘कस्तुरीसँग बिना हुन्छ, लेखकद्वयले त्यो बिना चिनाउनुभएको छ,’ मुख्यमन्त्री शाहीले भने। उनले कर्णालीलाई बुझ्न र यहाँका सम्भावना पहिचान गर्न पुस्तक अध्ययन गर्न आग्रह गर्दै यसको प्रचारप्रसारका लागि प्रदेश सरकार तयार रहेको बताए।
मुख्यमन्त्री शाहीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएको चार महिनाको अवधिमा एक संशोधित विधेयकसहित पाँचवटा कानुन निर्माण गरी प्रदेशसभामा पेस गरिएको जानकारी दिए। साथै, पुँजीगत खर्च बढाउन, राजस्वको दायरा फराकिलो बनाउन तथा दशौँ राष्ट्रिय खेलकुदमार्फत सकारात्मक सन्देश प्रवाह गर्न सरकार क्रियाशील रहेको बताए।
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भीम केसीले आफ्नो लामो समयदेखिको हुटहुटी पुस्तकमा समेटिएको उल्लेख गर्दै कर्णालीको विकास र समृद्धिका लागि निरन्तर क्रियाशील हुनुपर्नेमा जोड दिए।
पुस्तकका लेखक डा. दीपेन्द्र रोकायाले पुस्तकमा कर्णालीको उपेक्षाको शृङ्खला, प्रदेशको अवस्था, विकासको खोजी, गन्तव्य, समृद्धिका सूचक, संघीयताका उपलब्धि तथा बहसका मुद्दाहरू समेटिएको जानकारी दिए।
उनले कर्णालीको दुर्गम जिल्ला हुम्लाबाट एकै दिन सडकमार्ग हुँदै सुर्खेत र संघीय राजधानी काठमाडौं पुग्न सकिने यातायात सञ्जाल निर्माण गर्नुपर्नेमा जोड दिए। हिमाली पर्यापर्यटनलाई प्रवर्द्धन गर्ने सडक निर्माण आवश्यक रहेको उनको भनाइ थियो।
अर्का लेखक मोहनदास मानन्धरले कर्णाली चिसापानी जलविद्युत् आयोजना निर्माणको सन्दर्भबाट आफ्नो कर्णालीसँग सम्बन्ध जोडिएको बताए। चिसापानी आयोजना निर्माण नभए पनि अहिले तिला लगायतका जलविद्युत् आयोजनामा आफू जोडिएर काम गरिरहेको उनले जानकारी दिए। कर्णालीमा सम्भावनाका ढोका खुल्दै गएको उल्लेख गर्दै ती सम्भावनालाई व्यवहारमा उतार्न प्रदेश सरकार सक्रिय हुनुपर्नेमा उनले जोड दिए।
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र कर्णाली प्रदेश योजना आयोगको समन्वयमा आरम्भ प्रकाशनले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री रणसिंह परियार, मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. सुदीप ठकुरी, नागरिक समाजका अगुवा पिताम्बर ढकाललगायतको सहभागिता रहेको थियो।




Comment