चलचित्र क्षेत्रमा विदेशी लगानीको सम्भावनाबारे पुनर्विचार गर्नुपर्छ: सञ्चारमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उनले चलचित्र क्षेत्रमा विदेशी लगानी निषेध गर्ने पुरानो व्यवस्थाको औचित्य र वर्तमान सान्दर्भिकता समीक्षा गर्नुपर्ने बताएका हुन् ।

मन्त्री तिमिल्सिनाले २०२६ सालको अवधारणाअनुसार चलचित्र क्षेत्रमा विदेशी लगानी रोक्ने व्यवस्था गरिएको उल्लेख गर्दै अहिलेको बदलिँदो प्रविधि, बजार र लगानीको सम्भावनालाई ध्यानमा राखेर यसबारे नयाँ ढंगले सोच्नुपर्ने बताए ।

उनले चलचित्रलाई केवल मनोरञ्जनको साधनका रूपमा नभई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

सरकारले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि, लगानी र व्यावसायिक सम्भावनालाई सम्बोधन गर्न पुरानो कानुनी व्यवस्था परिमार्जन गर्न लागेको उनले जानकारी दिए ।

चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउने प्रस्ताव

चलचित्र विधेयकमा नेपाल चलचित्र विकास बोर्डलाई स्वायत्त निकायका रूपमा स्थापित गर्ने प्रस्ताव गरिएको छ । बोर्डका पदाधिकारी छनोट प्रक्रिया स्वच्छ र निष्पक्ष बनाउने व्यवस्था पनि विधेयकमा समेटिएको मन्त्री तिमिल्सिनाले बताए ।

त्यस्तै, चलचित्र निर्माण, वितरण तथा प्रदर्शनका लागि बोर्डबाट इजाजत लिनुपर्ने र इजाजतको अवधि, नवीकरण, संशोधन तथा हस्तान्तरणसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ ।

चलचित्र घरको सेवा, सुविधा र मापदण्ड बोर्डले निर्धारण गर्ने तथा निर्माणका लागि सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्ने व्यवस्था पनि विधेयकमा राखिएको छ ।

चलचित्र जाँच र बक्स अफिस प्रणाली अनिवार्य

विधेयकमा स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि वर्गीकरण र प्रमाणीकरण गर्न केन्द्रीय चलचित्र जाँच समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, सबै चलचित्र घरमा बक्स अफिस प्रणाली अनिवार्य गर्ने र त्यसबाट प्राप्त विवरण चलचित्र विकास बोर्डले वास्तविक समयमा प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

सुरक्षा, सार्वजनिक शान्ति तथा सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने वा जातीय, धार्मिक, भाषिक, सांस्कृतिक तथा क्षेत्रीय विभेद बढाउने जोखिम भएका चलचित्रको प्रदर्शन रोक्न सकिने व्यवस्था पनि विधेयकमा समेटिएको छ ।

विदेशी व्यक्ति वा संस्थाले नेपालमा विदेशी चलचित्र तथा वृत्तचित्र छायांकन गर्न चाहेमा सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति लिनुपर्ने प्रस्ताव गरिएको छ ।

विधेयकले चलचित्र क्षेत्रको नियमनसँगै स्वदेशी चलचित्रको प्रवर्द्धन, लगानी विस्तार र व्यावसायिक विकासलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।