काठमाडौं । विश्वप्रसिद्ध भारतीय प्राविधिक शैक्षिक संस्था इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस नेपालमा स्थापना हुने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना गर्ने सहमति भएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना गरिने घोषणा गरेका हुन् । उनले नेपालमा प्रतिष्ठित भारतीय शैक्षिक संस्थाको उपस्थिति विस्तार हुने बताए ।
त्यस अवसरमा प्रधानमन्त्री शाहले नेपाललाई प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण निर्माण गरिने बताए ।
नेपाल सरकारले यसअघि नै विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूलाई नेपालमा क्याम्पस स्थापना गरी सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति अघि सारेको थियो । भारतसँग भएको पछिल्लो सहमतिले उक्त नीतिलाई कार्यान्वयनतर्फ अघि बढाउने अपेक्षा गरिएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आईआईटीको क्याम्पस स्थापनालाई विदेशी शैक्षिक संस्था नेपालमा भित्रिने विषयमा मात्र सीमित नराखी इन्जिनियरिङ शिक्षा, अनुसन्धान र नवप्रवर्तनको विकासका लागि महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार यस पहलको मुख्य उद्देश्य स्वदेशमै उत्कृष्ट इन्जिनियर, अनुसन्धानकर्ता, नवप्रवर्तक र प्रविधि उद्यमी उत्पादन गर्न सक्ने बलियो शैक्षिक वातावरण निर्माण गर्नु हो । मन्त्री पोखरेलले आगामी दिनमा विश्वका अन्य प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग पनि सहकार्य विस्तार गरिने बताएका छन् ।
छात्रवृत्ति र आधुनिक विषयमा अध्ययनको अवसर विस्तार
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त दृष्टिकोण पत्रमा शिक्षा तथा सीप विकाससँग सम्बन्धित विभिन्न सहमति पनि समेटिएका छन् ।
सहमतिअनुसार नेपाली विद्यार्थीका लागि भारतले उपलब्ध गराउँदै आएका छात्रवृत्ति कार्यक्रम विस्तार गरिनेछ । अब कानुन, प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक र सम्भावनायुक्त विषयमा थप छात्रवृत्ति तथा तालिमका अवसर उपलब्ध गराइने उल्लेख छ ।
त्यस्तै, दुवै देशका शैक्षिक तथा तालिम संस्थाबीच सहकार्य विस्तार गर्दै प्राध्यापक, विज्ञ तथा शैक्षिक जनशक्तिको आदानप्रदानलाई प्रोत्साहन र संस्थागत गरिनेछ ।
नेपाली युवाका लागि व्यावसायिक तालिम केन्द्र
नेपाली युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले भारतको सहयोगमा व्यावसायिक तालिम केन्द्र (भोकेसनल ट्रेनिङ इन्स्टिच्युट) स्थापना गरिने भएको छ ।
उक्त केन्द्रमार्फत उत्पादन, सेवा तथा उद्यमशीलताका क्षेत्रमा आवश्यक व्यावहारिक सीप र व्यावसायिक तालिम प्रदान गरिनेछ । यसबाट नेपाली युवाको सीप विकास तथा रोजगारीका अवसर विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नालन्दा केन्द्रदेखि कृषि र चिकित्सा शिक्षामा सहकार्य
शिक्षा क्षेत्रमा भएको सहकार्य आईआईटी स्थापनामा मात्र सीमित छैन । संयुक्त दृष्टिकोण पत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘नालन्दा केन्द्र’ स्थापना गरी भारतको नालन्दा विश्वविद्यालयसँग शैक्षिक सहकार्य गर्ने विषय पनि समेटिएको छ ।
त्यसैगरी, नेपालमा भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) को सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने तथा दुवै देशका कृषि विश्वविद्यालयबीच सम्बन्ध विस्तार गर्ने सहमति भएको छ ।
चिकित्सा शिक्षाको क्षेत्रमा पनि नेपाल र भारतका प्रमुख मेडिकल संस्थानहरूबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गरिने उल्लेख छ ।
भारतसँग भएका यी सहमतिहरू कार्यान्वयनमा आएमा नेपालको उच्च शिक्षा, अनुसन्धान, प्राविधिक जनशक्ति उत्पादन र व्यावसायिक सीप विकासमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । विशेषगरी नेपालमै अन्तर्राष्ट्रियस्तरको प्राविधिक शिक्षा हासिल गर्ने अवसर विस्तार हुनु यस सहकार्यको महत्त्वपूर्ण उपलब्धि हुन सक्नेछ ।




Comment