बागमती प्रदेश सरकारले प्रविधिसंगसंगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको छ – मुख्यमन्त्री बानियाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले प्रविधिसंगसंगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको छ भन्ने बताएका छन्।

प्याब्सन जिल्ला कार्य समिति ललितपुरले शनिबार आयोजना गरेको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले आगामी बजेटमार्फत प्रविधिसँगै नैतिकता, अनुशासन र मर्यादामा आधारित शिक्षालाई अगाडि बढाइने बताए।

उनले अहिलेको पुस्तामा प्रविधिप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै प्रविधिको सही प्रयोग गर्न आवश्यक रहेको बताए। “पहिलेको पुस्ता बिहान उठ्नेबित्तिकै मातापितालाई ढोग्थ्यो, अहिले उठ्नेबित्तिकै मोबाइल चलाउने चलन बढेको छ,” उनले भने, “प्रविधि हाम्रो ज्ञानबाट आविष्कार भएको विज्ञान हो, त्यसलाई सही तरिकाले प्रयोग गर्नुपर्छ।”

मुख्यमन्त्री बानियाँले निजी विद्यालयलाई योग, ध्यान र प्राणायामलाई प्राथमिकतामा राख्न आग्रह गर्दै यसले विद्यार्थीको मानसिक र शारीरिक विकासमा सहयोग पुग्ने बताए।

“योग, ध्यान, प्राणायाम र साधनाले प्रतिकूल अवस्थामा पनि मनलाई सन्तुलित राख्न सिकाउँछ,” उनले भने, “हाम्रो संस्कार र संस्कृतिले कठिन समयमा पनि मानिसलाई बलियो बनाउँछ।”

उनले आगामी शिक्षण पद्धति प्रविधिमैत्री बनाउँदै नेपाललाई समृद्धितर्फ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै निजी विद्यालयले नैतिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

एआई लगायतका प्रविधिको दुरुपयोग नगर्न आग्रह गर्दै उनले समाजलाई विकृतितर्फ लैजाने गतिविधि रोक्नुपर्ने बताए। “प्रविधिको विकाससँगै हाम्रो परम्परा, संस्कृति र संस्कारलाई पनि जोडेर लैजानुपर्छ,” उनले भने।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमाणपत्र तथा पुरस्कार दिए। साथै आगामी दिनमा पनि निरन्तर मेहनत गरेर राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे। कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व तथा शिक्षकलाई समेत सम्मान गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।