काठमाडौं । अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली को मुख्य अभिनय रहने चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ। निर्माण टिमले शुक्रबार शुभमुहूर्त गर्दै पर्वतबाट औपचारिक रूपमा छायांकन थालेको हो।
सारंगी फिल्म्स को प्रस्तुतिमा बन्न लागेको चलचित्रको छायांकन पर्वत जिल्लाको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट सुरु गरिएको निर्देशक सरोज पौडेल ले जानकारी दिए। शुभमुहूर्त कार्यक्रममा मुख्य कलाकार विजय बराल, अञ्जना बराइली तथा अभिनेता विनोद न्यौपानेलगायत कलाकार तथा निर्माण टिमको उपस्थिति रहेको थियो।
निर्देशक पौडेलका अनुसार चलचित्रको ३५ दिने छायांकन तालिका तय गरिएको छ। विजय र अञ्जनाले निर्देशक पौडेलसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र पूर्णबहादुरको सारङ्गी मा अभिनय गरेका थिए। उक्त चलचित्र नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने फिल्ममध्ये एक बनेको थियो।
‘पूर्णबहादुरको सारङ्गी’को सफलतापछि निर्देशक पौडेल नेपाली फिल्म उद्योगमा ‘ब्लकबस्टर निर्देशक’का रूपमा स्थापित भएका थिए। नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’को कथा तथा लेखनसमेत निर्देशक पौडेल स्वयंले गरेका हुन्।

Comment