काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट हुने विद्युत् आयातको अनुमति नवीकरण भएको जनाएको छ । मंगलबारसम्म कायम रहेको पूर्व अनुमति सकिएपछि भारतले भारतीय इनर्जी एक्सचेञ्ज (आईईएक्स) मार्फत प्रस्ताव नवीकरण गरेको हो।
यसपटक भारतले नेपाललाई दैनिक १६ घण्टाका लागि मात्र विद्युत् आपूर्ति गर्न स्वीकृति दिएको छ। हिउँदयाममा बढ्दो माग धान्न नेपालले २४ घण्टा १ हजार २ मेगावाट विद्युत् खरिदको प्रस्ताव गरेको थियो तर भारतले उच्च माग पर्ने समय घटाएर १६ घण्टाका लागि मात्र अनुमति दिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।
नयाँ नवीकरणअनुसार वैशाख ३ देखि १७ गतेसम्म बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म (१६ घण्टा) र वैशाख १८ देखि असार १६ गतेसम्म बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत् आयात गर्न अनुमति प्राप्त भएको छ।
भारतले यसपटक उच्च माग हुने समय कटौती गरी बाँकी समयमा मात्र विद्युत् उपलब्ध गराउने व्यवस्था गरेको प्राधिकरणले जनाएको छ।

Comment