काठमाडौँ । कवि अस्मिता विष्ट को कविता–संग्रह ब्ल्याकहोलमा गीतहरू शनिबार काठमाडौँस्थित सर्वनाम थिएटर मा विमोचन गरिएको छ।
कृतिको संयुक्त रूपमा विमोचन कवि श्रवण मुकारुङ, विमला तुम्खेवा, समीक्षक गुरुङ सुशान्त तथा स्वयं लेखक विष्टले गरेका हुन्।
विमोचन समारोहमा बोल्दै कवि मुकारुङले संग्रह काव्यिक संरचनाका दृष्टिले सबल र समकालीन कविताको महत्त्व स्थापित गर्ने कृति भएको बताए। “यी कविताले समकालीन कविताको मार्गमा आफ्नै मौलिक शैली समाएका छन्,” उनले भने, “लिंग, पहिचान र धर्मजस्ता मुद्दा कुनै कालखण्डमा असान्दर्भिक हुन सक्छन्, तर प्रेम सधैं सान्दर्भिक रहन्छ। विष्टले प्रेमलाई कवितामार्फत् सर्वकालिक बनाएकी छन्, त्यसैले उनी समकालीन कविहरूको भीडमा अलग पहिचान बनाउनेछिन्।”
समीक्षक गुरुङ सुशान्तले विष्टका कवितामा प्रेम, नारी संवेदना, आदिवासी सौन्दर्य र सामाजिक विषयमा प्रतिरोधी स्वर मुखर रूपमा अभिव्यक्त भएको बताए। उनका अनुसार संग्रहका कविता समाजमा स्थापित पुरातन मान्यताविरुद्ध सशक्त प्रतिवाद हुन्। “प्रेम र नारी केन्द्रित देखिए पनि यसमा पुरुष–सत्ताविरुद्धका प्रभावशाली कविता छन्,” उनले भने, “यी कविता निजी स्मृतिजस्ता देखिए पनि राजनीतिक पाठ हुन्। पहिचानको पक्षमा उभिएको भूमिमा कविता लेखिरहेकी कविले पहिचानलाई नजिकबाट छामेका कारण उनका रचना बुलन्द बनेका छन्। यस संग्रहका कविता भावनात्मक अभिव्यक्ति मात्र नभई महिला अनुभवका विशिष्ट दस्तावेज पनि हुन्।”
कवि विमला तुम्खेवाले संग्रहलाई समकालीन परिदृश्यको तीखो अभिव्यक्ति भएको उल्लेख गरिन्। “यी कवितामा महिला जीवनका दैनिक अनुभूति प्रभावकारी ढंगले समेटिएका छन्,” उनले भनिन्, “कविताको बान्की र सौन्दर्यमा विशेष शैली र शिल्प देखिन्छ, जसले समकालीन विषयमा बहस र विमर्श सिर्जना गर्छ। विम्बको प्रयोग कुशल छ र भाषा स्पष्ट तथा सुकोमल छ।”
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पस मा प्राध्यापनरत कवि अस्मिता विष्टले आफ्नो कविताको भावभूमि जीवन अनुभव, अध्ययन र अवलोकनबाट निर्माण भएको बताइन्। “यी कविताप्रति पाठकले देखाएको सद्भावबाट म अत्यन्त उत्साहित छु,” उनले भनिन्।
कार्यक्रममा कवि रिमा केसी, प्रज्वल अधिकारी र देवव्रतले संग्रहबाट एक–एक कविता वाचन गरेका थिए।
इन्डिगो इन्क ले प्रकाशन गरेको ‘ब्ल्याकहोलमा गीतहरू’ को मूल्य ३४९ रुपैयाँ राखिएको छ।

Comment