काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा ११ खर्ब रुपैयाँ बढी रकम त्यत्तिकै थुप्रिएकाले लगानीको वातावरण तयार गर्न आग्रह गरेका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले बैंकमा भएको रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेकामा जोड दिए ।
“एकातिर अहिले बैंकमा प्रशस्त रकम भएको अवस्था छ भने कतिपय आयोजनामा लगानी नभएर बेवारिसे छन्”, उनले भने, “जसले गर्दा आयोजनाको लागत बढेको अवस्था छ । यो अवस्थानमा अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आवश्यक छ । त्यसका लागि लगानीको वातावरण तयार गर्नु पर्दछ ।”
यस्तै, उनले नियमनकारी निकायले पनि प्रभावकारी ढङ्गले काम नगर्दा समस्या सिर्जना भएको उल्लेख गर्दै यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए । धितोपत्र बोर्डमा पदाधिकारी नहुँदा लामो समयसम्म काम प्रभावित भए भनेपछि पदाधिकारी आइसकेपछि पनि प्रभावकारी ढङ्गले काम हुन नसकेकाले यसमा सुधार हुनु जरुरी भएकाले यस्तो प्रवृत्तिले लगानीको वातावरणमा नै असरपर्ने अध्यक्ष ढकालको भनाइ छ ।
धितोपत्र बोर्डले लामो समय जलविद्युत् आयोजनालाई आइपिओ निष्कासन गर्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ढकालले धितोपत्र बोर्डमा देखिएको समस्यालाई तत्काल हटाउनसमेत अर्थमन्त्रीसँग आग्रह गरे ।

Comment