काठमाडौं । जेनजी अभियन्ता अजय सोडारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन्। भारतको नयाँदिल्लीमा आयोजित NDTV World Summit 2026 मा अर्थमन्त्री वाग्लेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सोडारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पत्र बुझाएका हुन्।
अर्थमन्त्री वाग्लेले अक्टोबर २३ मा आयोजित उक्त सम्मेलनमा ‘भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको’ भन्ने अभिव्यक्ति दिएको भन्दै सोडारीले त्यसलाई नेपालको राष्ट्रिय हित, स्वाभिमान र सार्वभौमसत्ताविपरीत भएको आरोप लगाएका छन्।
सोडारीले नेपाल र भारतबीच विगतमा भएका असमान सन्धि–सम्झौताको पुनरावलोकन, अतिक्रमित नेपाली भूमि फिर्ता, पारवहनमा सहजता, व्यापार घाटा न्यूनीकरण, नदी तथा जलस्रोतमा हुने हस्तक्षेप र सीमावर्ती क्षेत्रमा हुने डुबानलगायतका विषयमा नेपालको पक्षमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रिय हितको विषय भएको बताएका छन्।
उनले नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग मात्र जोडेर व्याख्या गर्नु गलत भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध समानता, पारस्परिक सम्मान र आपसी आत्मीयताका आधारमा अघि बढ्नुपर्ने धारणा राखेका छन्।
‘राष्ट्रिय हित र सार्वभौमसत्ता नै धरापमा पारेर आत्मसमर्पण गर्न सकिँदैन,’ सोडारीले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरेका छन्।
बहालवाला सरकारी पदाधिकारीबाट देशको राष्ट्रिय हित र स्वाभिमानमा प्रश्न उठ्ने खालका अभिव्यक्ति आउनु गम्भीर विषय भएको उनको जिकिर छ। राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षा गर्न सरकारले अर्थमन्त्री वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्ने माग सोडारीले गरेका छन्।





Comment