ललितपुर । ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले नागरिकले घरैबाट प्रहरीको सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन लागि परिरहेका बताए।
जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै एसएसपी बोगटीले कानूनी राज्यको प्रत्याभूति दिलाउन प्रहरी कुनै कसर बाँकी नराख्ने बताए। उनले प्रहरी र नागरिकलाई “एकै रथका दुई पाङ्ग्रा”को रूपमा वर्णन गर्दै सहकार्य र आपसी विश्वास नै सुशासनको आधार भएको बताए।
“युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमा आउने गलत सूचनाले समाजमा नकारात्मक प्रभाव पारिरहेको छ,” उनले बताए, “भ्युज र सब्स्क्राइब बढाउने नाममा समाजलाई भ्रममा पार्ने कार्य बन्द हुनुपर्छ। यस्तो गतिविधिले आन्दोलन र अविश्वास जन्माउँछ,” उनले बताए।
एसएसपी बोगटीले पछिल्लो समय साइबर अपराध बढ्दै गएको बताउँदै यसले प्रहरी र समाज दुवैलाई चुनौती दिइरहेको बताए। उनले नागरिकको सचेतनाले नै यस समस्याबाट बच्न सकिने धारणा राख्दै “सूचनाका कारण प्रहरी र पत्रकारबीच सम्बन्ध बलियो हुन्छ” भनेर बताए।
उनले सञ्चारमाध्यम र प्रहरी दुवैको उद्देश्य समाजमा शान्ति र सत्य स्थापित गर्नु हो भन्दै “पत्रकारिताले देशको शान्ति र सुरक्षालाई असर पार्ने गरी काम गर्नु हुँदैन” भनेर बताए।
उनी अनुसार सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या, पारिवारिक विबाद र सम्बन्धविच्छेदजस्ता घटनामा वृद्धि भएको छ। त्यसैले सामाजिक सद्भाव र सकारात्मक पत्रकारितामा जोड दिनुपर्ने बताए।
“नेपालमा सामाजिक सञ्जालमा लेख्ने स्वतन्त्रता अमेरिका जस्ता विकसित मुलुकभन्दा बढी छ,” उनले बताए, “तर यो स्वतन्त्रताको दुरुपयोग हुन नदिन सबैले ध्यान दिनुपर्छ।”
उनले जेनजेड आन्दोलनपछि सर्वसाधारणमा केही त्रास देखिएको भए पनि प्रहरी र जनताको सम्बन्ध अझ प्रगाढ बनेको बताए। साथै, बाँडेगाउँ र इमाडोल प्रहरी प्रभागको पुनर्निर्माण कार्य बाँकी रहेको र ललितपुरमा लुटिएका २१ मध्ये १९ वटा हतियार फिर्ता गरिएको जानकारी पनि उनले बताए।
एसएसपी बोगटीले जिल्लाको शान्ति सुरक्षा अवस्था स्थिर रहेको उल्लेख गर्दै, “सर्वसाधारणले छिटो र सहज रूपमा प्रहरी सेवामा पहुँच पाउन सक्ने वातावरण बनाइरहेका छौँ,” भनेर बताए।
उनले ललितपुरलाई संस्कृति, सम्पदा र भाषाको दृष्टिले विश्वमै परिचित सहर भन्दै यसको गरिमा र शान्ति कायम राख्न प्रहरी निरन्तर क्रियाशील रहेको बताए।
त्यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले गत एक महिनामा १२१ वटा मुद्दा दर्ता भएकोमा ८१ वटा फर्छ्योट हुन बाँकी रहेको जानकारी बताए। उनले गत वर्षभन्दा २० प्रतिशत मुद्दा घटाउने लक्ष्यका साथ काम भइरहेको बताउँदै “उजुरी आएपछि धेरैजसो विवाद छलफलमार्फत समाधान गरिरहेका छौँ,” भनेर बताए।

Comment