काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइको जिम्मा एक चिनियाँ कम्पनीलाई दिएको छ ।
केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय टेण्डर प्रक्रिया मार्फत ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ नामक चिनियाँ कम्पनीलाई नोट छपाईको काम सुम्पिएको हो ।
केन्द्रीय बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै सो कम्पनीले नोटको डिजाइन, छपाइदेखि नेपालसम्म आपूर्तिसम्मको सम्पूर्ण कार्य गर्ने जानकारी दिएको छ । कम्पनीले करिब १ करोड ४ लाख २२ हजार अमेरिकी डलर (झण्डै १ अर्ब ४३ करोड रुपैयाँ) लागतमा नोट छपाइको जिम्मा लिएको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन ९ गते अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको थियो । प्रक्रिया सम्पन्न भएपछि चिनियाँ कम्पनी छनोटमा परेको हो ।
अब सो चिनियाँ कम्पनीले कुल ४२ करोड थान ५० रुपैयाँ दरका नोट छापेर नेपालमा आपूर्ति गर्नेछ । नयाँ नोट कहिलेदेखि बजारमा ल्याइने भन्नेबारे भने राष्ट्र बैंकले खुलाएको छैन ।
Comment