पत्रकार पक्राउ प्रकरणमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण, कानुनी आधार सार्वजनिक गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार सरकारी कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाबारे काउन्सिलले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।

काउन्सिलका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय हो।

‘प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ,’ काउन्सिलले विज्ञप्तिमा उल्लेख गरेको छ।

सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको भएको उल्लेख गर्दै काउन्सिलले समाचारकै विषयमा सिधै प्रहरी परिचालन नगर्न सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध पक्षलाई आग्रह गरेको छ।

त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्नसमेत काउन्सिलले माग गरेको छ। काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई पनि सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

शुक्रबार प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत तथा मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको छ।

यसैबीच, नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै सादा पोशाकका प्रहरी पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन्। मैनालीलाई नलिई नफर्किने भन्दै प्रहरी कार्यालयमै बसेको बताइएको छ।

एकै दिन विभिन्न सञ्चारमाध्यमका पत्रकार पक्राउ पर्ने तथा पक्राउ गर्ने प्रयास भएपछि प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षाको विषय थप पेचिलो बनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।