काठमाडौं । जेनजी अभियन्ता अजय सोडारीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीको पक्राउप्रति आपत्ति जनाउँदै उनलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेका छन्।
सोडारीले पत्रकार सुवेदीलाई समाचार कक्षमै पुगेर पक्राउ पुर्जीबिनै प्रहरीले नियन्त्रणमा लिनु पत्रकारिता क्षेत्र, सञ्चारजगत् र प्रेस स्वतन्त्रतामाथिको अपमान भएको बताएका छन्।
मिडियामा प्रकाशित समाचारको विषयमा नियमन, अनुगमन तथा आवश्यक कारबाही गर्ने जिम्मेवारी प्रेस काउन्सिल नेपालजस्ता स्थापित निकायको हुँदाहुँदै प्रहरीले सिधै समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिनु स्थापित विधि, कानुनी प्रक्रिया र संवैधानिक मर्मविपरीत भएको उनको भनाइ छ।
सार्वजनिक जनचासोका विषयमा सत्य, तथ्य र खोजमूलक पत्रकारितामार्फत विभिन्न विषय उजागर गर्नु सञ्चारजगत्को दायित्व भएको उल्लेख गर्दै सोडारीले समाचार प्रकाशन गरेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिने प्रयास प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बताएका छन्।
उनले यस्तो गतिविधिलाई राज्यशक्तिको आडमा आलोचनात्मक आवाज दबाउने प्रयासका रूपमा समेत व्याख्या गरेका छन्।
‘लोकतन्त्रमा प्रश्न उठाउनु अपराध होइन,’ सोडारीले भनेका छन्, ‘सार्वजनिक पदमा बसेका व्यक्ति तथा संस्थाका कामकारबाहीमाथि प्रश्न गर्नु, उनीहरूको नैतिकता, पारदर्शिता र जवाफदेहिताबारे बहस गर्नु पत्रकारिता र नागरिकको संवैधानिक अधिकार हो।’
कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको निरूपण प्रचलित कानुन र न्यायोचित प्रक्रियाबाट हुनुपर्ने उनको धारणा छ। गिरफ्तारीको त्रास देखाएर पत्रकारितालाई प्रभावित पार्न नहुने उनले बताएका छन्।
स्थापित विधि र कानुनी प्रक्रियालाई बेवास्ता गर्दै पत्रकारलाई नियन्त्रणमा लिनु राज्यशक्तिको दुरुपयोग भएको उल्लेख गर्दै सोडारीले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारले निर्भीक रूपमा लेख्न र बोल्न पाउने संवैधानिक अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेका छन्।
उनले पत्रकार विश्वमणि सुवेदीलाई तत्काल बिनासर्त रिहा गर्नसमेत जोडदार माग गरेका छन्।




Comment