काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएकी हुन्।
दाहालका अनुसार पत्रकार पक्राउ गर्ने घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत नभएको बताएकी छन्।
घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको दाहालले उल्लेख गरेकी छन्।
विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएपछि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीको यस्तो निर्देशन आएको हो।
शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत तथा मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी उनको कार्यालयमै पुगेको थियो।




Comment