काठमाडौं । दशैं पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले साना र ठूला दरका गरी ६२ अर्ब रुपैयाँभन्दा बढीको नोट बजारमा पठाएको छ। राष्ट्र बैंकले २९ भदौदेखि सुकिला नोट सटही कार्यक्रम सुरु गरेसँगै बजारमा पुराना र नयाँ नोटको आपूर्ति उल्लेख्य रूपमा बढेको हो।
सुकिला नोट सटही कार्यक्रम अन्तर्गत राष्ट्र बैंकले ५ रुपैयाँ दरका नयाँ नोट सटही गरे पनि १, २, १०, २०, ५० र १०० रुपैयाँ दरका पुराना तर राम्रै अवस्थाका नोटलाई सुकिला नोटका रूपमा वितरण गरेको थियो। सटहीको मुख्य उद्देश्य चाडपर्वमा स-साना नोटको अभाव हुन नदिनु हो।
राष्ट्र बैंकका अनुसार दशैंअघि, २८ भदौमा बैंक बाहिर बजारमा रहेको चलनचल्तीको नोटको परिमाण ७ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर थियो। तर दशैं बिदा सुरु हुनुअघि ११ असोजमा उक्त परिमाण ७ खर्ब ९३ अर्ब ७९ करोड पुगेको थियो। दशैं सकिएपछि, १९ असोजमा भने यो परिमाण ८ खर्ब १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
दशैंको समयमा बैंकहरूले एटीएममा भरेको नगद सकिएपछि, बिदापछि पहिलो दिन केही बैंकहरूले राष्ट्र बैंकबाट भल्टका लागि थप नगद लगेको जानकारी राष्ट्र बैंकले दिएको छ। जसका कारण दशैंपछि बजारमा रहेको नगद रकम अझै बढेको देखिएको हो।
राष्ट्र बैंकका अनुसार, यो परिमाण चाडपर्वको मौसमी आर्थिक गतिविधिका कारण अस्थायी रूपमा बढेको हो र चाडपर्व सकिएसँगै क्रमशः सन्तुलनमा फर्कने अपेक्षा गरिएको छ।
Comment